Kanakai Online

झापामा गैडाको खाग र लागुऔषध सहित भारतीय नागरिक पक्राउ


बिहिवार, पौष २५, २०८१ |

कनकाई अनलाईन
नेपालभारत सिमास्थित मेचीनगर नगरपालिका काँकडभिट्टाबाट प्रहरीले गैडाको खाग र लागूऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

बुधवार दिउँसो ३.३० बजे मेचीनगर नगरपालिका वडा नं. ६ काँकरभिट्टास्थित हिमालय गेस्ट हाउसको कोठा नं.१०२ बुकिङ गरी बसेका भारत पश्चिम बंगाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधामले लागूऔषध ल्याई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले कोठा तलासी लिएको थियो ।

त्यसक्रममा इन्टेक्स लेखिएको काटुनभित्र १ के.जी. ७०० ग्राम तौल भएको गैडाको खाग , प्लाष्टिकसहित ३ ग्राम ७६० मिलिग्राम ब्राउनसुगर, पाइइभोन स्पास प्लस लेखिएको ट्याब्लेट १८ पत्ता, डिजिटल तराजु र मोवाईल १ थान फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयकी निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले जानकारी दिनुभयो । पक्राउ परेका भारतीय नागरिकलाई इलका प्रहरी कार्यालय काँकडभिट्टा अनुसन्धानका लागि राखिएको र बरामद खैडाको खागलाई प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ ।