Kanakai Online

झापा कपको फाईनलमा एनआरटी र चर्च ब्वाइज भीड्दै


शनिवार, पौष ६, २०८१ |

कनकाई अनलाईन
झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको फाईनलमा न्यु रोड टिम (एनआरटी) पुगेकोछ । शनिवार आज सम्पन्न दोस्रो सेमिफाईनको
जितसँगै एनआरटीले लिग विजेता चर्च ब्वाइज युनाइटेडसँगको भेट पक्का गरेको छ ।
एनआरटीले इटहरीको राष्ट्रिय जागृति क्लबलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
खेलको ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो ।
टाइब्रेकरमा एनआरटीका एञ्जल महर्जन, कृतिश छुञ्जु र अभिषेक लिम्बूले गोल गर्न सफल भए । जागृतिका कप्तान प्रवेश दनुवार र सविन घिमिरेको प्रहार गोलरक्षक विशाल सुनारले विफल बनाएका थिए भने विदेशी खेलाडी एलेक्सको प्रहार बारमा लागेर बाहिरिएको थियो ।
यसअघि खेलको ४२ औँ मिनेटमा एनआरटीका अञ्जन विष्टको प्रहार जागृतिका गोलरक्षक निरज चौधरीले बचाउनुभएको थियो । ८३ औँ मिनेटमा नेमारको क्रसमा लेखीको हेडर गोलरक्षक चौधरीले पञ्च गरेर बचाउनुभयो ।
जागृतिका लागि ५० औँ मिनेटमा खमिर गिल्सन कन्दङवाको कडा प्रहार एनआरटीका गोलरक्षक विशाल सुनारले पञ्च गरेर बचाउनुभयो । खेलको ८२ औँ मिनेटमा योगेन्द्र कार्कीले २५ यार्ड टाढाबाट गरेको प्रहार फ्रेममा पर्न नसक्दा खेलको निर्णयको लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम एनआरटीका गोलरक्षक सुनार हुनुभयो । उहाँले नगद १० हजार रुपैयाँ पुरस्कार पाउनुभयो ।
प्रतियोगितामा नेपाल र भारतका १० टिमको सहभागिता रहेको थियो । आयोजक झापा–११ सहित भारतको जिटिए दार्जिलिङ, गोर्खा ब्वाइज रुपन्देही, एलएक्स सिटी मोरङ, राष्ट्रिय जागृति क्लब इटहरी, सलहेश युथ क्लब सिरहा, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एनआरटी क्लब काठमाडौँ र चित्लाङ एफसी काठमाडौँ खेलमा सहभागी भएका थिए ।
प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने छन । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।
फोटो ः एनआरटी हरियो जर्सी र जागृति सेतो जर्सीमा प्रतिस्पर्धा गर्दै