कनकाई अनलाईन
झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको खेलमा आयोजक झापा ११ पहिलो चरणको खेलबाटै पराजित भएको छ ।
आज (आइतवार) झापा ११ फुटबल टिम राष्ट्रिय जागृति क्लब इटहरीसग २–० गोल अन्तरे पराजित बनेको हो । ईटहरीका लागि खेलको ५३ र ६२ मिनेटमा मिलन राईले २ गोल गर्नुभयो । खेलको प्लेयर अफ द म्याच समेत २ गोलकर्ता जागृतिका मिलन राई हुनुभयो । राईले नगद १० हजार रुपैयाँ प्राप्त गर्नुभयो ।
स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर हावी हुन नसक्दा समुहचरणबाटै बाहिरिएको हो ।
क्वार्टर फाइनलमा जागृतिले भारतको जिटिए दार्जिलिङसँगको भेट पक्का गरेको छ ।
खेलको ५३ औँ मिनेटमा गोलपोस्टको २० यार्डमा झापाका डिफेन्डर विशाल दर्जीले जागृतिका मिलन राईलाई फाउल गरेका थिए । त्यसपछि पाएको फ्रिकिकलाई राईले नै सुन्दर गोल गर्नुभयो । दोस्रो गोल खेलको ६२ औँ मिनेटमा झापाका दुईजना डिफेन्डरले क्लियर गर्न नसकेको बललाई राईले गोलमा परिणत गर्दै अग्रता दोब्बर बनाउनुभएको थियो ।
झापाका तर्फबाट खेलको ४४ औँ मिनेटमा झापाका दयानन्द सिंहले डिबक्समा पाएको अवसर गोलपोष्टबाट बाहिरियो ।
सोमबारको पहिलो क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुबटल क्लब र सलहेस फुटबल क्लब सिराहाबीच हुने आयोजक समितिले जनाएको छ ।
आर्मीले पहिलो चरणको खेलमा एलएक्स सिटी फुटबल क्लब मोरङलाई हराएको थियो भने सलहेस क्लब सिराहा बाइ पाएर प्रतियोगितामा सहभागी भएको हो ।
शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपजिेताले नगद ५ लाख पुरस्कार पाउने छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले बताउँनुभयो ।