Kanakai Online

पूर्वमेयर शिवाकोटीमाथि हदैसम्मको कार्बाही गर्न चार महिला संगठनको माग


मङ्गलवार, मंसिर २५, २०८१ |

कनकाई अनलाईन
नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर तथा एमालेका जिल्ला सदस्य ध्रुवकुमार शिवाकोटीमाथि चार वटा महिला संगठनहरुले हदैसम्मको कार्बाहीको माग गरेका छन् ।
बलात्कारजस्तो जघन्य अपराधमा पक्राउ परेका शिवाकोटीलाई जोगाउने षडयन्त्र भइरहेको भन्दै विभिन्न राजनीतिक दलनिकट महिला संगठनहरुले प्रेस विज्ञप्तिमार्फत प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका हुन् । ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान र त्यससम्बन्धी विषयमा विभिन्न छलफल र गोष्ठीहरु चलिरहेकै बेला एउटा राज्यको स्थानीय सरकारको समेत नेतृत्व गरिसकेका व्यक्ति यस्तो हर्कतमा उत्रिनु अत्यन्तै निन्दनीय कार्य भएको र सम्पूर्ण नगरबासीले शिर निहुर्याउनु पर्ने अवस्था सिर्जना भएको छ ’ विज्ञप्तिमा भनिएको छ ,‘मानवीय मूल्य र मान्यताबिपरित गरिएको यस्तो जघन्य अपराधमा संलग्न बिर्तामोडका शिवाकोटीलाई हदैसम्मको कार्बाही गरियोस् भनी जोडदार माग गर्दछौं ।’

उनीहरुले पहुँचको आधारमा दोषीले उन्मुक्ति पाउने कार्य गरे कडा प्रतिकारमा उत्रन बाध्य हुने चेतावनी दिएका छन् । साथै पीडित बालिकाको स्वास्थ्य अवस्था चेकजाँच गरी उनको प्रभावकारी उपचारका साथै जीउज्यानको आवश्यक सुरक्षा व्यवस्था गर्न मागसमेत गरेका छन् । अनेम संघ (क्रान्तिकारी) झापाकी अध्यक्ष तारा श्रेष्ठ, अनेम संघ (समाजवादी) झापाकी अध्यक्ष हरिमाया मैनाली , राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन झापाकी सचिव शिखा खड्का (गणेश) र अनेम संघ (क्रान्तिकारी )झापाकी अध्यक्ष दिलकुमारी सीले संयुक्तरुपमा विज्ञप्ति जारी गरेका हुन् ।

शिवाकोटीलाई ४ दिन हिरासतमा राख्न अनुमति

घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई पटक पटक जबरजस्ती करणी (बलात्कार) गरेको आरोप लागेका बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख शिवाकोटीलाई ४ दिन हिरासतमा राख्न झापा जिल्ला अदालतले अनुमति दिएको छ । अदालतले शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न तत्काललाई चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णकुमार चन्दले बताए । यो अवधिमा प्रहरीले प्रारम्भिक अनुसन्धान र सोधपुछ गर्नेछ । त्यसपछि अनुसन्धानका लागि थप समय हिरासतमा राख्नलाई फेरि समय माग्नेछ । इलाका प्रहरी कार्यालय बिर्तामोडले शिवाकोटीलाई हिजो अपराह्न पक्राउ गरेको हो ।