कनकाई आनलाईन
विपन्न वर्गको बढी बसोबास रहेको झापा गाउँपालिकामा संचालन गरिएको कपडा बैंकमा कपडा लिनेहरुको घुइँचो लागेको छ ।
नेपाल रिलिफ ट्रष्टले आजदेखि झापा बजारमा कपडा बैंक संचालनमा ल्याएको हो । आर्थिकरुपमा विपन्न वर्गलाई लक्षित गरी जाडो यामका लागि ट्रष्टले कपडा बैंक संचालन गरेको जनाएको छ ।
झापा गाउँपालिकाका स्थानीय युवाहरुको सक्रियतामा विपन्नहरुका लागि निःशुल्क रुपमा कपडा वितरण गर्ने उद्देश्यले कपडा बैंक स्थापना गरिएको ट्रष्टका अध्यक्ष विशालमणि तिवारीले बताए । उनका अनुसार आर्थिक अभावका कारण कतिपय विपन्न परिवारले चाडपर्वको समयमा समेत कपडा किन्न सकेका थिएनन् । यो कपडा बैंकबाट आफूलाई अनुकूल हुने कपडा छानी छानी निःशुल्क लैजान सकिने उनले बताए ।
अध्यक्ष तिवारीले ‘हुनेले दान गर्नुहोस् नहुनेले ढुक्क भएर लैजानुहोस्’ भन्ने नारासहित कपडा बैंकको स्थापना गरेको बताए । उनले कपडा बैंक जाडो मौसमभरि झापा गाउँपालिकाको विभिन्न ठाउँमा संचालन गरिने जानकारी दिएका छन् ।