Kanakai Online

झापाका सडक दुर्घटनाका घाइते दुईजनाको आज अस्पतालमा मृत्यु


सोमवार, कार्तिक १९, २०८१ |

कनकाई अनलाईन
झापाका फरक फरक सडक दुर्घटनामा घाइते भएर उपचार गराइरहेका दुईजनाको अस्पतालमा मृत्यु भएको छ ।

प्रहरीका अनुसार शिवसताक्षी–८ का ६१ वर्षीय गणेश खड्का र झापा ६ का ४० वर्षीय कमनसिंह लिंखाका ७ वर्षीय छोरा अस्मिन लिंखाको उपचारको क्रममा मृत्यु भएको हो । दुवैजना कात्तिक १६ गते दुर्घटनामा परेका थिए ।

खड्काको बिएन्डसी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा आज बिहान अन्दाजी ५ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी–११ कृष्ण मन्दिरनजिक काँकरभिट्टाबाट धरानतर्फ जाँदै गरेको प्रदेश १ ०२–००१ ख ९५३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री खड्कालाई ठक्कर दिएको थियो ।

त्यस्तै, झापा गाउँपालिका ६ किरातचोकस्थित भित्री पक्की सडकखण्डमा मोटरसाइकलको ठक्करबाट लिंखा घाइते भएका थिए । उनको बिएनडसी अस्पतालमा आज बिहान ५ः१० बजे मृत्यु भएको हो ।

सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे. ७ प ५७५९ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने वर्ष ४० वर्षीय कमनसिंह र उनका छोरा अस्मिनलाई ठक्कर दिएको थियो ।