कनकाई अनलाईन
झापाको गौरादह नगरपालिका ७ जामबारीमा एक व्याक्तिको आफ्नै घरमा पालेको गोरुले हानेर मृत्यु भएको छ ।
गौरादह ७ का ४८ बर्षिय कृष्ण शर्माको आफ्नै घरमा पालेको गोरुले हानेर मृत्यु भएको हो । गोरुले हानेर अर्का एक जना घाइते भएका छन् ।
बुधवार (हिजो) साँझ ५.४० बजे बारीमा बाँधेको आफ्नै गोरु सार्ने क्रममा उक्त गोरुले हानेर शर्मा घाइते भएका थिए । उनलाई उपचारको लागि लाईफ लाईन अस्पताल दमक लगिएको थियो । ढाडको ७ वटा करङ भाँचिएका शर्मालाई थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर रेफर गरिएकोमा आज ( बिहीवार) दिउँसो ४.२० बजे उपचारको क्रममा मृत्यु उनको भएको प्रहरीले जनाएको छ ।
सोही गोरुलाई समाउने क्रममा छिमेकी अन्दाजी ४५ वर्षीय रविन राजवंशी गंभीर घाइते भएका छन् । टाउकोमा चोट लागेर लाईफ लाईन अस्पताल दमकमा उपचार भइरहेकोमा थप उपचारका लागि उनलाई नोबेल अस्पताल विराटनगर लगिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसअघि करिव चार वर्षअघि आफ्नै घरमा पालेको गोरुले हानेर मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको समेत मृत्यु भएको थियो ।