Kanakai Online

सहकारी ठगी आरोपमा प्रदेश सांसद खनालका छोरा पक्राउ


आइतवार, कार्तिक ११, २०८१ |

कनकाई अनलाईन
सहकारी ठगी आरोपमा झापामा प्रदेश सांसदका पुत्र सुमन खनाल पक्राउ परेका छन ।
सहकारी ठगीमा संलग्न भएको भन्दै प्रहरीले झापा शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनाललाई पक्राउ गरेको हो ।

बचतकर्ता र शेयर सदस्यहरूको झण्डै डेढ करोड रुपैयाँ अनियमितता भएको सो सहकारीमा संस्थाका अध्यक्ष खनालले आफूखुसी सहकारीको एक करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ ठगी गरेको देखिएको छ । पक्राउ परेका खनाल झापा क्षेत्र नम्बर ४ (क)बाट निर्वाचित एमालेका प्रदेश सभा सदस्य राधाकृष्ण खनालका छोरा हुन् ।

कात्तिक ५ गते उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताउँनुभयो । प्रदेश रजिष्टार कार्यालयमा उजुरी परेर त्यहाँबाट परिपत्र आएपछि सहकारीका अध्यक्ष खनाललाई पक्राउ गरिएको प्रहरी प्रवक्ताले बताउँनुभएको छ । पक्राउ गरिएका खनाल हाल जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका छन । उनलाई अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक चन्दले बताउँनुभयो ।

सहकारीमा रकम फिर्ता नपाएपछि पीडितहरूले शिवसताक्षी नगरपालिकाको सहकारी शाखामा उजुरी दिएका थिए । सो उजुरीको विषयमा छानबिन गर्न नगरपालिकाले जिल्ला प्रहरी कार्यालयलाई सिफारिस गरेको थियो । भदौको तेस्रो सातातिर खनालविरुद्ध उजुरी परेको थियो ।

उक्त सहकारीको स्थापना कालदेखिकै अध्यक्ष रहेका खनालले आर्थिक वर्ष २०७८–०७९ मा उनले ७० हजार शेयर रकम हिनामिना गरेको शिवसताक्षी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष भाष्कर न्यौपानेको नेतृत्वमा गठित समितिको प्रतिवेदनमा उल्लेख छ ।सोही प्रतिवेदन अनुसार खनालले विनाभौचर नै बचतकर्ताको रकम २ लाख ६ हजार ८६८ रुपैयाँ निकालेको पाइएको थियो । बचतकर्ताको ४२ लाख नगद हिनामिना गरेको, बचतकर्ता तथा संकलकहरूबाट हिसाबभन्दा बढी सङ्कलन भएको रकम जम्मा हुने उन्नति फन्ड एकाउन्टबाट आर्थिक वर्ष २०७९–८० मा २ लाख ३६ हजार ८४० रुपैयाँ निकालेर अध्यक्ष आफैँले आफ्नो बचत खातामा जम्मा गरेको लगायतका विषय प्रतिवेदनमा उल्लेख छ ।यस्तै आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरणमा ४१ लाख ६८ हजार ३७७ रुपैयाँ नगद मौज्दात भएको दाबी गरेपनि उक्त रकम अध्यक्षले व्यक्तिगत रूपमा चलाएको पाइएको थियो ।

प्रतिवेदनमा आर्थिक वर्ष २०७८–७९ मा उन्नति साकोसको नाममा ५ लाखको कर्जा संस्थाले शेयर सदस्यलाई लगानी गरेको नभई अध्यक्ष खनालले नै मनखुसी चलाएको पाइएको छानविन समितिको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७८–७९ मा रमेश अधिकारीको नाममा रहेको १ लाख ९१ हजार ८४९ रुपैयाँको कर्जा लगानी गरेको भए पनि उक्त व्यक्ति नै फेक रहेको अनुगमन समितिले जनाएको छ ।

सञ्चालक समिति अध्यक्षले संस्था स्थापना भएदेखि नै संस्थाको नगद हिनामिना गरी व्यक्तिगत रूपमा चलाएको र उक्त रकममा संस्थाले ब्याज नपाएको हुँदा संस्थापक अध्यक्षबाट आर्थिक वर्ष २०७८–७९ सम्ममा ४४ लाख ३४ हजार १६७ ब्याज पाउनुपर्ने र आर्थिक वर्ष २०७९–८० मा १६ लाख ३१ हजार ३८७ रुपैयाँ ब्याज थप गरी ६० लाख ६६ हजार १९६ ब्याज हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ । अध्यक्ष खनालबाट सहकारीले आर्थिक वर्ष आर्थिक वर्ष २०७९–८० को अन्त्यमा १ करोड ६२ लाख ६२ हजार ३६९ रुपैयाँ पाउनुपर्ने देखिएको ’ प्रतिवेदनमा उल्लेख छ ।