Kanakai Online

नेपाली चेलीद्धारा माल्दिसको गोल पोस्टमा ११ गोल


सोमवार, कार्तिक ५, २०८१ |

कनकाई अनलाईन
नेपालकी फरवर्ड रेखा पौडेलको ५ गोलको मद्धतमा साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले माल्दिभ्समाथि गोल बर्षा गदै ११ — ० गोल अन्तरको फराकिलो जित दर्ता गरेको छ ।

दशरथ रंगशालामा सोमबार आज सम्पन्न खेलमा माल्दिभ्समाथि ११–० को फराकिलो जितका साथ नेपाल अंक तालिकाको शीर्षस्थानमा पनि उक्लिएको छ । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा ७ गोल थपेको थियो । नेपालको जितमा रेखा पौडेलले ५ गोल र प्रिती राईले ह्याट्रिक पूरा गर्दा सविता राना मगर, अमिशा कार्की र अनिता केसीले १–१ गोल गरे ।

नेपालको २ खेलमा ४ अंक छ । भुटानको समान ४ अंक भएपनि गोल अन्तरमा नेपाल अघि छ । श्रीलंकाको ३ अंक हुँदा माल्दिभ्सले खाता खोलेको छैन । अब अन्तिम खेलमा नेपालले बराबरी गरे मात्र पनि सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह विजेता बन्न भने भुटानको नतिजा पर्खनुपर्नेछ ।

खेलको सातौं मिनेटमा नेपालले प्रितीको गोलमा अग्रता लियो । सविता राना मगरले दिएको छोटो कर्नरमा प्रितीले गरेको फितलो प्रहार माल्दिभ्सका २ डिफेन्डर र गोलरक्षकलाई छिचोल्दै निअर पोस्टबाट गोल भएको थियो ।

२४ औं मिनेटमा नेपालको गोलमा गोलरक्षक अमिनाथ लिजा बाधक बनिन् । रेखाको क्रसमा रश्मी कुमारी घिसिङले ६ यार्ड बक्स भित्रबाट गरेको शक्तिशाली हेडर अमिनाथले विफल परिन् ।

२९ औं मिनेटमा सविताले नेपालको अग्रता दोब्बर पारिन् । पेनाल्टी क्षेत्रबाहिर सरुको पासलाई नियन्त्रणमा लिँदै सविताले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

३२ औं मिनेटमा रेखाले नेपाललाई ३–० ले अघि बढाइन् । रश्मीले दिएको पासलाई रेखाले गोललाइनको ठिक अघिबाट छातीले गोल गरिन् । लगत्तै रश्मीले पेनाल्टी क्षेत्र भित्रबाट गरेको लगातार दुई प्रहारले पोस्टको दिशा लिएन ।