Kanakai Online

दुर्गा प्रसाईका समर्थकको आगजनिमा परेका भारतीय चालकको मृत्यु


आइतवार, असोज २०, २०८१ |

कनकाई अनलाईन
मेडिकल व्यावसायी दुर्गा प्रसाई पक्राउको बिरोधमा झापा बन्दका बेला प्रसाईका समर्थकको आगजनीमा परेका भारतीय ट्रक चालकको शनिवार राती मृत्यु भएको छ ।

गत असोज ७ गते बिहान २ः५० बजे बिर्तामोड–६ गिरीबन्धु टी–इस्टेटनजिक पूर्वपश्चिम राजमार्गमा सुनसरीको दुहबीबाट जुट पुर्याएर पूर्वतर्फ आउँदै गरेको डब्लुबी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रकमा दुर्गा प्रसाईका समर्थकहरुले आगजनी गरेका थिए ।
उनीहरु आगजनी गरी फरार भएका थिए । ट्रकमा लागेको आगो बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । आगलागीबाट ट्रकको अगाडिको भाग पूर्ण रुपमा जलेर नष्ट भएको थियो भने पछाडिको भागमा आंशिक क्षति पुगेको थियो ।

आगलागीबाट ट्रकका चालक भारत छप्रा उत्तर दिनाजपुर बस्ने ४० वर्षीय पदा राय घाइते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पतालमा उपचार भई थप उपचार नर्थ बंगाल मेडिकल कलेजमा भइरहेकोमा शनिवार राती मृत्यु भएको हो । मृतक रायका आफन्तहरुले आईतवार साँझ एसियन हाइवेको काँकडभिट्टा नाकामा पानीटंकीतर्फ शव राखेर प्रदर्शन गर्दै नाका अवरोध गरेका थिए । उनीहरुले साँझ ५.३५ देखि ६ बजेसम्म नाकामा अवरोध पुर्याएका थिए ।

भारतीय प्रहरीले नेपाल प्रहरीसंग सहजीकरण गरी साँझ ६.३० बजे मृतकको शव नेपाल पठाएको छ । शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगजनी गर्ने दुर्गा प्रसाईका ८ जना समर्थकलाई प्रहरीले पक्राउ गरिसकेको छ ।उनीहरुमाथि आपराधिक उपद्रो तथा ज्यान मार्ने उद्योगको मुद्धा दर्ता भएको छ ।