Kanakai Online

हत्या गरेर पुरेको ४ महिनापछि प्रहरीले बिरिङ नदि किनारबाट शव निकाल्यो


आइतवार, असोज २०, २०८१ |

कनकाई अनलाईन
प्रहरीले हत्या गरी गाडेको अवस्थामा झापा बाह्रदशी गाउँपालिका ५ का २२ बर्षिय युवक राजेश ठाकुरको शव गाडिएको अवस्थामा आज साँझ फेला पारेको छ ।
सुराक पाइसकेपछि चार दिनदेखि उत्खनन् गरिरहेको प्रहरीले राजेशको सडेको अवस्थामा बाह्रदशी गाउँपालिका ७ स्थित विरिङ नदि बगरमा आईतवार साँझ फेला पारेको हो । ५ फिट भन्दा गहिरो खनेर प्लाष्टिकले बेरिएको अवस्थामा ठाकुरको सडेगलेको अवस्थामा कंकाल अवस्थामा शव फेला परेको थियो ।

चार दिनको प्रयासपछि हत्या गरी गाडिएका ठाकुरको कंकाल आईतवार साँझ बिरिङको बगरमा भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख डीएसपी प्रकाश विष्टले बताउँनुभयो ।
त्यस कंकालका बारेमा कानुनी प्रक्रिया पुर्याउने कार्य भइरहेको प्रहरी नायव उपरिक्षक बिष्टले बताउँनुभयो । चार दिनदेखि प्रहरीले जेसीवी प्रयोग गरेर ठाकुरको शव खोजिरहेको थियो । प्रहरीले दुई दिनसम्म आरोपित राजवंशी परिवारको घर आँगन खनेको थियो । घरभित्र हत्यामा प्रयोग गरिएको हतियार बाम्फोक, मृतकका कपडा र शव सडाउन प्रयोग गरिएको नुन समेत फेला परेपनि शव भने फेला परेको थिएन ।
त्यसपछि बिरिङ खोलाको बगरमा खन्दा पनि ठाकुरको शव भेटिएको थिएन ।

हत्या गरी दुबई गएका गणेश राजवंशीसंगको कुराकानी र अन्य अनुसन्धानबाट ठाउँ पत्ता लगाई आज उत्खनन् गरिएको डीएसपी विष्टले बताउँनुभयो । ठाकुर गत जेठ १५ गतेदेखि बेपत्ता भएका थिए । चार महिना अघिदेखि बेपत्ता भएका ठाकुरलाई हत्या गरेर घरभित्र गाडेको आशंकामा प्रहरीले बिहीवार र शुक्रवार घरमा उत्खनन् गरेको थियो ।
छिमेकी गणेश राजवंशी र उनकी भाउजु मुना मेचे राजवंशीलगायतले हत्या गरेर आफ्नो घर आँगनमा शव गाडेको आशंकामा प्रहरीले उनीहरुको घर उत्खनन् गरेको थियो । आफ्नी काकी मुना र काका गणेशले राजेशलाई हत्या गरेर गाडेको कुरा मुनाका भतिज नरेशले बताएपछि प्रहरीले उत्खनन् थालेको थियो । राजेशको शव गाड्ने काममा आफूले पनि सहयोग गरेको नरेशले स्वीकार गरेका थिए ।

घटनामा संलग्न रहेका गणेश दुबईमा छन् । घटना गराएर उनी विदेश गएका थिए । मुनाका श्रीमान अभय राजवंशी भने पहिलादेखि नै साउदी अरबमा छन् । मुना, उनका जेठाजु समिर राजवंशी र भतिज नरेशलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ । दुवईमा रहेका गणेशलाई पनि झिकाउने पहल भइरहेको डीएसपी विष्टले जानकारी दिएका छन् ।
गत जेठ १५ गते बाह्रदशी–५ निवासी भीम हजाम ठाकुरले छोरा हराएको भन्दै जेठ १७ गते प्रहरीमा खोजीकार्यका लागि भन्दै निवेदन दिएका थिए ।
प्रहरीले गरेको अनुसन्धानका क्रममा ठाकुरको हत्या गरेर शुरुमा भान्सा घरमा शव गाडेको खुलेको छ । पछि सो शव खोला किनारमा सारिएको अनुसन्धानले देखाएको प्रहरीको भनाई छ । घटनाका वारेमा पत्रकार सम्मेलन गरेर थप विवरण सार्वजनिक गर्ने प्रहरीको तयारी रहेको छ ।
हत्याको मुख्य कारण श्रीमान वैदेशिक रोजगारीमा रहनु र श्रीमती परपुरुषसग लाग्नु रहेको बताइएको छ ।