Kanakai Online

झापाका दमकलमा चरम लापर्वाही, कर्मचारी रक्सीमा मस्त


मङ्गलवार, असोज १५, २०८१ |

कनकाई अनलाईन
झापाका पालिकामा रहेका दमकलमा चरम लार्पवाही हुने गरेको पाइएको छ ।


आज साँझ झापाको मेचीनगरमा भएको आगलागिबाट एक भारतीय कार जलेर ध्वस्त भएको छ । मेचीनगर नगरपालिका नजिक्कै भएको आगलागिमा आगो निभाउन गएको मेचीनगर नगरपालिकाको दमकलले पानी नफालेपछि बिर्तामोड नगरपालिकाको दमकललाई बोलाइएको थियो । तर दुखद कुरा बिर्तामोड नगरपालिकाका दमकल चालक र कर्मचारी रक्सीले मातेर बसेका कारण आगो निभाउन गएको दमकल दुर्घटनामा परेको छ । प्रहरीले दमकल चालक मनोज पौडेललाई पक्राउ गरेको छ ।
आज साँझ मेचीनगर –७, एनएमसी डेरी अगाडि पूर्वपश्चिम राजमार्गमा एउटा भारतीय कारमा अचानक आगलागी भएको छ ।

साँझ ६ः२० बजे काँकडभिट्टाबाट धुलाबारीतर्फ आउँदै गरेको ध्द्य ठद्ध ब्च् ठज्ञछण् नम्बरको भारतीय कारको इन्जिनबाट अचानक आगलागी भएको हो । उक्त आगलागीबाट कारको अगाडिको भाग जलेर नष्ट भएको छ । कारमा लागेको आगोलाई मेचीनगर नगरपालिकाको एउटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा साँझ ६ः५० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । कारको ब्याट्री सर्ट भएर आगो लागेको हुनसक्ने आशङ्का गरिएको छ।

यसैबीच कारमा अचानक आगलागी भएपछि सो आगो निभाउन जाँदै गरेको बिर्तामोड नगरपालिकाको दमकल दुर्घटनामा परेको छ । अर्जुनधारा नगरपालिका– ११ गिरीबन्धु टि इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको अर्जुनधारा– ७ बस्ने मोहनप्रसाद भेटवालले चलाएको मे १त ४१३८ नम्बरको बिर्तामोड नगरपालिकाको फोहोर उठाउने ट्रयाक्टरलाई सोही दिशाबाट जाँदै गरेको भद्रपुर नगरपालिका ६ बस्ने बर्ष अन्दाजी ४७ का मनोज पौडेलले चलाएको मे १ग४१ नम्बरको बिर्तामोड नगरपालिकाकै दमकलले ओभरटेक गर्न खोज्दा ट्रयाक्टरलाई ठक्कर दिएको हो । ट्रयाक्टर रोडउत्तर खाल्डोमा पल्टिएको छ ।

उक्त स्थानमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिएर ट्रयाक्टर निकालिएको छ । दुबैतर्फी सवारी सुचारु रहेको छ । दमकल चालक पौडेललाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । दमकलका चालकसहितका कर्मचारीले मादक पदार्थ सेवन गरेका कारण दमकल ट्रयाक्टरमा ठोक्किएको बताइएको छ ।