Kanakai Online

नेपालले ओमानलाई दियो विशाल लक्ष्य


आइतवार, असोज १३, २०८१ |

कनकाई अनलाईन
– क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई जितका लागि १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ ।

क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गर्यो ।

नेपालका लागि गुलशन झाले १७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक नट आउट ४० रन बनाए । छैटौं विकेटका लागि गुलशन र कुशल भुर्तेलले ६१ रनको साझेदारी गरे । कुशलले १७ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन बनाए ।

कुशल मल्लले २६ बलमा २ चौका र २ छक्काको सहयोगमा ३० रन बनाए । ओपनरद्वय अनिल शाह र आसिफ शेखले समान २७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ५ बलमा १ चौका र २ छक्काको सहयोगमा नट आउट १८ रन बनाए ।

ओमानका लागि कप्तान अकिब इल्यासले ३, जिशान मक्सुद र फैयज बटले समान १ विकेट लिए । सिरिजको पहिलो खेलमा शनिवार नेपाल घरेलु टोलीसँग १४ रनले पराजित भएको थियो ।

१ सय २४ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ रन बनाउँदै अल आउट भएको थियो । खराब ब्याटिङलाई निरन्तरता दिँदा नेपाल पराजित भएको थियो ।

यस टि ट्वान्टी आई सिरिजको ओमान पहिलो खेल खेल्दैछ । दुवै टोली सिरिजमा पहिलो जितको खोजीमा हुनेछन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले १७ अप्रिल पछि कुनै पनि खेल जित्न सकेको छैन । यसबीच नेपालले ११ अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ ।

नेपाल र ओमान हालसम्म टि ट्वान्टी आईमा ६ पटक आमनेसामने सामने भएका छन् । जसमा समान ३ जित र हार बेहोरेको छ । पछिल्लो ५ भेट मध्ये ३ खेलमा नेपाल विजयी हुँदा २ खेल ओमानले जितेको छ ।

नेपालले तेस्रो खेलमा मंगलवार क्यानडासँग खेल्दा चौथो खेलमा नेपालले बुधवार फेरि ओमानको सामना गर्नेछ ।

सम्बन्धित खबर