Kanakai Online

अखिल क्रान्तिकारीको सम्मेलन स् आफ्नो नेता विद्यार्थीले छान्ने हो


बुधवार, असोज ९, २०८१ |

कनकाई अनलाईन
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी को २३ औँ राष्ट्रिय सम्मेलन भोलि बिहीबारदेखि काठमाडौँमा सुरु हुँदैछ । असोज १४ गतेसम्म सञ्चालन हुने नेतृत्व चयनको सम्मेलनमा अध्यक्ष पदका लागि दर्जनको हाराहारीमा प्रत्याशी देखा परेका छन् ।

अध्यक्षको आकाङ्क्षीमा नरेश रेग्मी, पवन कार्की, अच्युत भट्ट, मदन भुल, केशव रावल, दीपेश पुन, जीपी मैनाली, इन्द्र भुसाल, नारायण खनाल, प्रविणा अधिकारी र क्षितिज सापकोटा छन् ।

एजेण्डाको हिसाबले मैले चुनाव जितिसकेँ–नरेश रेग्मी

अखिल क्रान्तिकारी० का हालका उपाध्यक्ष एवम् अध्यक्ष पदका उम्मेदवार नरेश रेग्मी शर्मा आफूले एजेण्डाको हिसाबले चुनाव जितिसकेको दाबी गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “एजेण्डाको हिसाबले मैले चुनाव जितिसकेँ अब प्राविधिक हिसाबले जित्न बाँकी छ । संस्थापन पक्ष र इतर पक्ष भन्ने माओवादीमा छैन । तर यसमा स–साना मनोविज्ञान भने छन् । यसपालि प्रतिनिधिबाट नेतृत्व छनोट हुन्छ । म चाहिँ विद्यार्थी पक्षको हो अध्यक्ष उम्मेदवार हुँ ।’’

उहाँले आफ्नो लामो जीवन विद्यार्थी राजनीतिमा बिताएको बताउनुहुँदै विद्यार्थी आन्दोलनलाई पुन परिभाषित गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्यार्थी आन्दोलन पुन परिभाषित गरौँ । हिजोको जस्तो ठ्याक्कै त्यही स्वरूपमा अगाडि बढाउन सकिँदैन । आजको पुस्ता हिजोको भन्दा धेरै नै फरक छ । उनीहरूलाई परम्परागत राजनीति मन पर्दैन ।” विद्यार्थी आन्दोलनप्रति निराशा बढेको तथा औचित्यमाथि नै प्रश्न उठेकोले फेरि आशा जगाउने ढङ्गबाट अगाडि बढ्नुपर्ने भनाइ उहाँले राख्नुभयो ।

उहाँले भन्नुभयो, “विद्यार्थी आन्दोलनमा फेरि आशा जगाऔँ । विद्यार्थी आन्दोलन चाहिँदो रहेछ भन्ने ठाउँमा पुर्‍याऔँ । यसमा गम्भीरतापूर्वक प्रयास गर्ने भनेर यो उम्मेदवारी दिइएको हो ।”

संगठनलाई स्वार्थ अनुकूल प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्न मेरो उम्मेदवारी–पवन कार्की

यसैगरी, अध्यक्ष पदका अर्का प्रत्याशी हालका उपाध्यक्ष पवन कार्कीले विद्यार्थी आन्दोलनप्रति प्रश्न उठिरहेका बेला आन्दोलनको पुनर्जीवन एवम् साङ्गठनिक संरचना पुनर्गठन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

कार्कीले भन्नुभयो, “विद्यार्थी एकातिर, हाम्रो सङ्गठन अर्कोतिर हुने परिस्थिति बनेको छ । विद्यार्थीको आकर्षण नहुने देखिएको छ । जहाँ विद्यार्थी त्यहाँ अखिल–क्रान्तिकारी० को सङ्गठन निर्माण गर्ने गरी संरचना परिवर्तन गर्नुपर्छ ।”

उहाँले विधि स्थापित गर्ने कुरामा जोड दिनुहुँदै संस्थागत निर्णयलाई अगाडि बढाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सङ्गठनलाई व्यक्तिगत स्वार्थ अनुकूल प्रयोग गर्ने प्रवृत्ति हाबी भएको छ । यसलाई अन्त्य गरेर सङ्गठनको स्वार्थमा व्यक्तिहरू परिचालित हुने ढङ्गले अगाडि बढाउनुपर्छ । पुरानै खालका कार्यक्रम, योजनाहरूले गर्दा विद्यार्थी र सङ्गठनबिच लामो दुरी खडा भएको छ । सङ्गठनमा विद्यार्थी लालायित हुनुपर्ने ठाउँमा सङ्गठनले विद्यार्थी खोज्दै हिँड्नुपर्ने परिस्थिति बनेको छ ।”

उहाँले नेतृत्व चयनमा सहमति प्रयास हुनसक्ने तर, आकाङ्क्षी धेरै भएकाले निर्वाचन हुने सम्भावना बढी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “१८ जना उपाध्यक्ष र एक महासचिव हुनुहुन्छ । त्यो १९ जना साथीहरूको अध्यक्षमा दाबी गर्ने कुरा स्वाभाविक नै मानिन्छ । दोस्रो कुरा सहमतिको प्रयास, प्रयत्न नहुने भन्ने होइन । कसैलाई न्याय र कसैलाई अन्याय हुने गरी सहमति मान्दैनौँ । केन्द्रीय समितिबाट कार्यविधि बनाएका छौँ, यसलाई लागु गरेर अगाडि बढ्ने भनेका छौँ ।”

पार्टीले कसैलाई अगाडि बढायो भन्ने कुरा निराधार–पूर्व अध्यक्ष तामाङ

अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङले सम्मेलनको बहस शैक्षिक एजेण्डा र मुद्दामा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

तामाङले भन्नुभयो, “देशको स्थिति, शिक्षा क्षेत्रको कायापलट गरेर दक्ष र योग्य जनशक्ति उत्पादन गर्ने र सिङ्गो देश निर्माणका लागि युवा, विद्यार्थीलाई परिचालन गर्न, विद्यार्थीलाई पार्ट टाइम जब लगायत शैक्षिक भविष्यको सुनिश्चितता गर्नका लागि राज्यलाई दबाबमूलक भूमिका निर्वाह गर्ने । राष्ट्रिय उत्पादन, आत्मनिर्भरतासहितको विकास र समृद्धि खासगरी व्याप्त भ्रष्टाचार रोक्न, सुशासनको पक्षमा अभियान सञ्चालन गर्ने गरी आफ्नो एजेण्डा र मुद्दामा बहस, छलफल केन्द्रित गरिनुपर्छ ।”

संस्थापन पक्षबाट नेतृत्व चयन सम्बन्धको जिज्ञासामा उहाँले विद्यार्थी प्रतिनिधि आफैँले नेतृत्व चयन गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “क्रान्तिकारी विरासत र इतिहासमाथि न्याय गर्ने गरी आफ्ना एजेण्डा र मुद्दामा बहस गर्दै, स्वस्थ प्रतिस्पर्धाबाट आफ्नो सङ्गठनको नेतृत्व चुन्ने प्रक्रियामा अगाडि बढ्नुपर्छ भन्ने मेरो धारणा हो । कसलाई अगाडि बढाउने वा नबढाउने भन्ने कुरामा न त पार्टी यसमा बोलेको छ न, हामी बोल्छौँ । सम्मेलनको बन्द सत्रबाट चुनेर आएका प्रतिनिधिले आफ्नो नेता कस्तो छान्ने रु कसलाई र के आधारमा छान्ने भन्ने कुरा विद्यार्थी स्वयम्ले निर्णय गर्नुपर्छ ।”

उहाँले पार्टीले कुनै नेतालाई अगाडि बढाएको भन्ने कुरा निराधार रहेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्यार्थीको सम्मेलन, पार्टीको सम्मेलन जस्तो गर १ भनेर हामीले निर्देशित गरेका छैनौँ, गर्दैनौँ । पार्टीले यसलाई वा त्यसलाई अगाडि बढाउन खोज्यो भन्ने कुराहरू निराधार हो । यसमा कुनै सत्यता छैन । विद्यार्थी आफ्नो नेतृत्व आफ्नै छलफलको आधारमा चयन गर्नुपर्छ भन्ने हाम्रो कुरा छ ।”

उहाँले नेपालको शैक्षिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, जनजीविकाका, राष्ट्रियताका मुद्दाहरूमा अनेरास्ववियु क्रान्तिकारीले बनाएको इतिहासलाई आजको विद्यार्थीको आवाज, जनजीविकाको आवाज एवम् पहरेदारको रूपमा उभ्याउन सक्नु यो राष्ट्रिय सम्मेलनको मूल उद्देश्य रहेको उल्लेख गर्नुभयो ।