Kanakai Online

झापा बुद्धशान्तिको घुस काण्ड, घुस लिने दिने दुबै अख्तियारको नियन्त्रणमा


बुधवार, असोज ९, २०८१ |

कनकाई अनलाईन
घरको बाटोका लागि घरनक्सा निकाल्न ८० हजार रुपैँया घुस रकम दिदै गर्दा झापा विर्तामोडमा पक्राउ परेको झापा बुद्धशान्ति गाउँपालिका २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली र घुस दिने भारतीय नागरिक अमरनाथ चौहान दुवैलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

मंगलवार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट आएको टोलीले राति ९ बजेसम्म इलाका प्रहरी कार्यालय बिर्तामोडमा सर्जमिन मुचुल्का बनाएको थियो ।
सो टोलीले राति नै दुवैजनालाई इटहरी लिएर गएको र बुधवार बेलुकासम्म काठमाडौं लगिने आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताउँनुभयो । उहाँले दुवैजनालाई नियन्त्रणमा लिई नियम अनुसार अनुसन्धान भइरहेको बताउँनुभयो ।

बुद्धशान्ति– २ का वडा अध्यक्ष ओलीले सेवाग्राही अमरनाथ चौहानसँग जग्गा पास तथा लेनदेन सिफारिससम्बन्धी कार्यका लागि मंगलवार दिउँसो बिर्तामोडको हनुमान कम्प्लेक्स अगाडि ८० हजार रुपैयाँ घुस लिँदै गरेको अबस्थामा पक्राउ परेका थिए ।
वडाध्यक्ष पक्राउ परी निलम्बनमा परेपछि अब कसलाई कार्यवाहक दिने सम्बन्धमा बुद्धशान्ति गाउँपालिका कार्यालयले छलफल अघि बढाएको जनाएको छ । स्थानीय शासन ऐनअनुसार कसलाई कार्यवाहक दिँदा उपयुक्त हुन्छ भनेर कानुनी परामर्श गरिरहेको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले बताउँनुभयो । गाउँपालिका अध्यक्ष प्रसाईले अब बस्ने कार्यपालिकाको बैठकले त्यसबारे निर्णय गर्ने जानकारी दिनुभयो ।

घुससहित पक्राउ परेका वडाध्यक्ष ओली नेपाली कांग्रेस बुद्धशान्ति २ का वडा सभापति हुन् । उनीमाथि पार्टीले कार्वाही अघि बढाएको छैन । वडाध्यक्ष ओलीमाथि मुद्धा दर्ता भएर निलम्बनमा परिसकेपछि जिल्ला समितिको बैठक बसेर पार्टीले कार्वाही गर्ने क्षेत्रीय सभापति खगेन्द्र मैनालीले बताउँनुभयो । ओलीलाई नेकपाका कार्यकर्ताको सक्रियतामा घुस रकम सहित पक्राउ गरिएको हो । पक्राउ परेका वडाध्यक्ष ओलीलाई केहिघण्टा इलाका प्रहरी कार्यालयमा राखि कार्वाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान केन्द्र इटहरीलाई बोलाएर जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख प्रकाशकुमार विष्टले बताउँनुभयो ।

सम्बन्धित खबर