Kanakai Online

मर्निङ वाकमै प्रचण्डलाई बुझाए बिर्तामोड बसपार्क क्षेत्रवाशीले ज्ञापनपत्र


आइतवार, भदौ ३०, २०८१ |

कनकाई अनलाईन
पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुले भ्रष्टाचारको पर्दाफास गर्दा आफु अल्पमतमा परेको र सरकार छाडनुपरेको बताउँनुभएको छ ।


झापाको विर्तामोडमा पार्र्टी प्रवेश र प्रशिक्षण कार्यक्रममलाई सम्बोधन गर्न हिजो शनिवार बिर्तामोड आइपुग्नुभएका अध्यक्ष प्रचण्डले आज विहान आईतवार बिर्तामोड र अर्जुनधारा नगरक्षेत्रमा रहेको बसपार्क क्षेत्रको जग्गा समस्या समाधानका लागि गठित बसपार्क समन्वय समितिका ज्ञापन पत्र बुझ्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताउँनुभएको हो ।


अध्यक्ष प्रचण्डले गिरी बन्धुको उक्त ५१ विगाह जग्गाको कुरा संसदमा उठाउँदा आफु अल्पमतमा परेको र भ्रष्टाचारको कुरा उठाउदा सरकारै छाडनुपरेको गुनासो गर्नुभयो । भ्रष्टाचार र बेतिथिका विरुद्ध आवाज उठाउँदा सरकार छाडनुपरेको भएपनि अवका दिनमा सदन र सडक दुबैबाट भ्रष्टाचारको विरुद्ध र बसपार्कका पिडितहरुको आवाज उठाउने बताउँनुभयो ।
आइतबार विहान टेकबहादुर गिरी बसपार्क (नयाँ बसपार्क) पुग्नुभएका अध्यक्ष प्रचण्डलाई सो क्षेत्रको जग्गा समस्या समाधानका लागि उक्त ज्ञापन पत्र बुझाइएको हो ।
सो क्षेत्रको ५१ विगाहा जग्गामा रहेको चिया बगान अन्यत्र स्थानान्तरण गरी सट्टापट्टा गर्न दिने सरकारको मन्त्रीस्तरीय निर्णयबाट सो जग्गा नाज टी स्टेटको नामबाट बिर्तामोड आवास कम्पनीको नाममा बिक्री भएको थियो सुर्दशन गिरीले बताउँनुभयो । आवास कम्पनीले जग्गा कित्ताकाट गरी विभिन्न व्यक्ति तथा संघसंस्थालाई बिक्री समेत गरिसकेको थियो । हाल उक्त स्थानमा बसपार्क सहित विभिन्न आवशीय भवनहरु रहेका छन । सो जग्गाको सम्बन्धमा नियमविपरित भएको भन्दै २०६४ सालमा परेको रिट सर्वोच्च अदालतले खारेज गरेको थियो र भोग चलन भइरहेको अवस्थामा गिरीबन्धु टी स्टेटको जग्गाको बिषयमा परेको मुद्धाको फैसला गर्दै सर्वोच्च अदालतले २०८० माघ २४ गते फैसलाको पूर्ण पाठ सार्वजनिक गरेको थियो ।

पूर्ण पाठमा सो ५१ विगाहा जग्गाको बिषयमा रोक्का राख्नु भन्ने कुनै आदेश नभएको, अगाडीको रिट खारेज भइसकेको अवस्थामा जिल्ला मातपोत कार्यालयले सो जग्गाको कारोबार रोक्का राखेको भन्दै समन्वय समितिले समस्या समाधानका लागि आग्रह गरेको हो । जग्गाको किनबेच, धितो रोक्का लगायतका काम नहुँदा स्थानीय समस्यामा परेको समितिको भनाई छ । मालपोत कार्यालयमा गएर बुझ्दा भूमिसुधार मन्त्रालयमा लेखि पठाएको र जवाफ नआएकाले केहि गर्न नसकिएको जवाफ पाएको उनीहरुले बताएका छन् । समितिको तर्फबाट हरि भण्डारीले ज्ञापन पत्र बुझाउनुभएको छ ।

ज्ञापन पत्र बुझ्दै अध्यक्ष प्रचण्डले आफुले सरकारमा हुँदा गिरीबन्धुलगायतको बिषयमा बोलेकै कारण सरकार ढलेको बताउँदै माओवादी केन्द्र भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा अडिग रहेकाले सदन र सडकबाट भएपनि पिडीतहरुलाई न्याय दिलाउने बताउँनुभयो ।
फोटोः बसपार्कको जग्गाको ज्ञापन पत्र बुझ्दै अध्यक्ष प्रचण्ड र विहान मनिङ पार्कमा निस्कदै प्रचण्ड तस्वीर लीलाराज खड्का