कनकाई अनलाईन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भर्खरै मात्र देशभरका ७५३ स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन सार्वजनिक गरेको छ ।
त्यसै अन्र्तगत झापाको पनि संस्थागत क्षमता स्वमूल्यांकनको नतिजा सार्वजनिक भएको हो ।
झापाका पन्ध्र स्थानीय तह मध्ये ८५ दशमलब ५० अंकका साथ कनकाई नगरपालिका झापाको उत्कृष्ट नगरपालिका बनेको छ । त्यसपछि ७७ अंकका साथ झापा गाउँपालिका दोस्रो, ७६ दशमलब ५० अंकका साथ दमक नगरपालिका तेस्रो र ७५ दशमलब ७५ अंकका साथ मेचीनगर नगरपालिका चौथो भएका छन् ।
यसैगरी, बाह्रदशीले ७३।७५ अंक, शिवसताक्षीले ७३ अंक, भद्रपुरले ७२।२५, कमलले ७१ः२५, गौरादहले ६४ः२५, गौरीगञ्जले ६३, कचनकबलले ६०।७५, अर्जुनधाराले ६०.२५, बिर्तामोडले ५९.५०, हल्दिबारीले ५२.२५ र बुद्धशान्तिले ४३.७५ अंक प्राप्त गरेका छन् । गाउँ तथा नगरपालिकाको कार्य प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी गुणस्तर परीक्षण गरेर उक्त नतिजा सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ ।
यो मूल्यांकन आर्थिक वर्ष २०७९/०८० को हो । बिगतमा उत्कृष्ट नतिजा ल्याउने गरेका बिर्तामोड यसपटक खस्किएको छ भने कनकाईले आफ्नो उत्कृष्टताको बिरासत कायमै राखेको छ । मेचीनगरले भने बिगतमा खस्किने गरेको नतिजा यसपाली उल्लेख्य मात्रामा सुधार गरेको देखिन्छ । बुद्धशान्ति गाउँपािलका भने झापाका पालिकाहरु मध्येमा नतिजामा अन्तिम परेको छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ ले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका लागि विभिन्न विषयक्षेत्रहरु निर्धारण गरेको छ । शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजनामा व्यवस्थापन, वित्तीय र आर्थिक व्यवस्थापन, सेवा प्रवाह, सहकार्य र समन्वय, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण र वातावरण संरक्षण तथा विपद् व्यवस्थापनन गरी १० शीर्षकमा स्थानीय तहको स्वमूल्याङ्कन हुने गरेको छ ।
स्थानीय तहको कार्य–प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उदेश्यले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन गरिँदै आएको मन्त्रालयले जनाएको छ ।