Kanakai Online

बिर्तामोडबाटै थुनुवा हत्कडी फुस्काएर फरार


बुधवार, भदौ ५, २०८१ |

कनकाई अनलाईन
इलाका प्रहरी कार्यालय बिर्तामोडका थुनुवा हत्कडी फुस्काएर फरार भएका छन । उपचारका लागि बिर्तासिटी अस्पताल लगिएका इलाका प्रहरी कार्यालय बिर्तामोडका एकजना थुनुवा हतकडी फुस्काई फरार भएका हुन ।

मंगलवार हिजो दिउँसो ४ बजे पेट दुख्ने बिरामी भई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा बेड भर्ना भई उपचार भइरहेका दमक नगरपालिका वडा न.३ भुटानी शरणार्थी सेक्टर जी थ्री भई हाल वडा नम्बर १ मा डेरा गरी बस्ने २५ वर्षीय बिशाल राई हतकडी फुस्काई फरार भएका हुन् ।

लागूऔषध मुद्धामा पक्राउ परेका राईको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर राई खटिएका थिए । घटनाको जानकारी गराउनासाथ इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टको कमाण्डमा खोजतलास भइरहेको जनाइएको छ ।

भदौ २ गते राति अन्दाजी ९.३० बजे बिर्तामोड नगरपालिका वडा नम्बर १ पश्चिम बसस्टेन्डमा शंकास्पद अवस्थामा हिडडुल गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले राईलाई चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित १ ग्राम ४४ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा राखी ५ दिन म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको थियो ।