लीलाराज झापाली
जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक बर्ष २०८०/८१ मा ४२७ जना फरार प्रतिवादीहरु पक्राउ गरि उनीहरुलाई १८४ बर्ष १ महिना १३ दिन कैद सजाय तथा उनीहरुबाट ५ करोड, ४ लाख ९८ हजार १४३ रुपैँया जरिवाना असुलउपर गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक कृष्णकुमार चन्दका अनुसार अघिल्लो आर्थिक बर्ष २०७९/८० मा भने २३० जना फरार प्रतिवादीहरु पक्राउ गरि उनीहरुलाई २४७ बर्ष १ महिना ७ दिन कैद सजाय तोकिनको साथै उनीहरुबाट १ करोड २ लाख ६ हजार ३९५ रुपैँया जरिवाना असुलउपर गरिएको थियो । जसमा मानिस पक्राउमा ८५.६५ प्रतिशत वृद्धि भई जरिवानामा असुल उपरमा समेत ३९४.७७ प्रतिशत वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय झापामा यस आर्थिक बर्ष २०८०÷८१ मा २०८२ वटा मुद्धा दर्ता भएको र १४९५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरि अनुसन्धानको दायरामा ल्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अघिल्लो आर्थिक बर्षमा भने १९०९ वटा मुद्धा दर्ता भएको र १३८० फरार प्रतिवादीहरुलाई पक्राउ गरि अनुसन्धानको दायरामा ल्याइएको जनाइएको छ ।
यसैगरि आर्थिक बर्ष २०८०÷८१ मा झापामा लागुऔषधका मात्रै २९७ वटा मुद्धा दर्ता भएको ४६२ जना प्रतिवादीलाई पक्राउ गरि कार्वाही अगाडि वढाइएको प्रहरी प्रवक्ता चन्दले गोरखापत्र दैनिकलाई बताउँनुभयो । जसमा ३५ जना महिला समेत रहेको र जसबाट २ केजी १७४ ग्राम १९५ मिलिग्राम ब्राउन सुगर र थप अन्य विभिन्न किसिमका प्रतिवन्धित लागु औषध समेत रहेका छन । प्रहरीले अघिल्लो आर्थिक बर्ष २०७९ मा समेत ३३६ जनालाई पक्राउ गरि उनीहरुको साथबाट १ केजी ५५८ ग्राम ४५९ मिलिग्राम ब्राउन सुगर र अन्य प्रतिवन्धित लागुऔषध समेत बरामद गरि कार्वाहीको प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।
प्रहरीले आर्थिक बर्ष २०८०/८१ मा मात्रै ५ करोड ७० लाख ४६ हजार ४८८ रुपैँया बराबरका विभिन्न कपडा लगायातका भन्सार छलि ल्याइएका सामाग्रीहरु बरामद गरि भन्सार कार्यालयमा बुझाएको जनाएको छ । अघिल्लो आर्थिक बर्षमा भन्दा ४३.२० प्रतिशतले वरामद सामानबाट राजश्वमा समेत बुद्धि भएको प्रहरीले जनाएको छ ।