Kanakai Online

कारागारको फोहोर पानी र ध्वनि प्रदुषणको मारमा आसपासका बासिन्दा


शनिवार, साउन १९, २०८१ |

द्रोण अधिकारी
भद्रपुर । क्षमताभन्दा चार गुणा बढी कैदी बन्दी रहेको झापा कारागारबाट उत्पादन हुने फोहोर तथा प्रदुषणका कारण आसपासका बान्दिा दुई दशकयता प्रताडित भइरहेको गुनासो गरिरहेका छन् ।
दैनिक कार्य अन्र्तगत कैदी बन्दीबाट उत्पन्न हुने फोहोजन्य पानी तथा दिसापिसाव व्यवस्थापनको निकास दिने ढल सहज नभएका कारण पूर्वपट्टि रहेका दुई दर्जन बढी घर परिवार प्रत्यक्ष असर भोगिरहेको दुई दशक बढी भइसकेको छ ।
पछिल्लो एक वर्षयता कारगारबाट ध्वनि प्रदुषणको प्रहार पनि आसपासका बासिन्दामा थपिएको गुनासो आएको हो ।
विहान र बेलुका ध्यान, तप र योगाका नामा विभिन्न धर्म मान्ने संघ संस्थाका प्रतिनिधिहरूले गर्ने गरेका कार्यक्रमका आवाज बस्तीतिर फर्काएर माइक जडान गरिएका कारण आसपासका बासिन्दाले ध्वनि प्रदुषण सहनु परेको पीडित कविता नेपालले जानकारी दिइन् ।
उनका अनुसार हरेक दिन बिहान ४ वजेबाट बज्न सुरू हुने साउण्ड बक्सको झङ्कार बेलुका ७ वजेसम्म रहने गरेको छ भने कैदी बन्दीलाई सूचना दिने, मनोरञ्जन गराउने कार्यदेखि भजन किर्तन, तथा विभिन्न गीतको चर्को स्वर हरेक दिन सुन्नु पर्ने बाध्यता रहेको छ ।
कारागारको फोहोर पानी बग्ने ढलको उचित प्रवन्ध नभएका कारण त्यहाबाट दैनिक उत्पादित हजारौं लिटर फोहोर पानी पूर्वपट्टि पसेर बस्तीलाई असर गरिरहेको स्थानीयको आरोप छ । विभिन्न बाहनामा ध्वनि प्रदुषण पनि गाँसिएपछि थप पीडामा परेको दुखेसो आसपास बसोबास गर्ने बासिन्दामा छ ।
दुई दशकयता कारागारको अस्त व्यस्त फोहोर उचित व्यवस्थापनको माग गर्दै आएका पीँडित स्थानीयले न्यायोचित समाधानको बाटो नपाएको गुनासो गरिरहेका हुन् ।
२०६२ सालयता नेतृत्वमा पुगेका सवै सरकार प्रमुखसित स्थानीय बासिन्दाले कारागारको फोहोर पानीको व्यवस्थापनका लागि सहज निकासको माग राखेर पटक पटक ध्यानाकर्षण तथा ज्ञापन पत्र बुझाएका भए पनि सहस्या हल हुन सकेको छैन ।
कारागारको फोहोले झापाको सदरमुकाम आसपासका नागरिकमा स्वास्थ्यप्रति नकारात्मक असर गरिरहेको छ ।
कारागारबाट उत्पन्न हुने दिसाजन्य फोहोर पानीलाई व्यवस्थापन गर्न कारागार प्रशासनले केही वर्ष अगाडि उत्तरपट्टि एउटा शोष ट्याङ्की निर्माण गरेको थियो । तर, सो ट्याङ्कीले मात्र फोहोर पानी रोक्न नसकेकोले पूर्वपट्टिको बस्तीमा पानी पसेर डुवानको समस्या घटेको छैन ।
स्थानीय बासिन्दा दुर्गाबहादुर खड्काका सहजै बग्ने ढल निर्माण नभएसम्म फोहोर पानीका कारण उत्पन्न समस्या हल नहुने बताउँछन् ।
शौचालयको शौच मिसिएको पानी केही हदसम्म रोकिए पनि कारागारको फोहोरले स्थानीयलाई सताउन नछाडेको पीडित खड्काको भनाइ छ ।
समस्यै समस्याको भूमरीमा झापा कारागार जकडिएको छ । कतै स्थानीयको समस्या त कतै कैदी बन्दीको पीँडा भएर झापा कारागार समस्याको भूमरीमा परिरहेको भए पनि सरकारी संयन्त्रले समस्या हल गरी सुधारको बाटोमा लैजान सकेको छैन ।
सदरमुकाम समेत रहेको नेपाल कै पुरानो नगर भद्रपुर नगरपालिका भित्र रहेको जिल्ला कारागार झापाबाट उत्पन्न हुने फोहोरको व्यवस्थापन गर्न पीडित स्थानीय बासिन्दाले स्थानीय सरकारदेखि संघीय सरकारसम्म दवाव दिँदै आएका छन् । जिम्मेवार निकायले सुनुवाइ नगर्दा फोहोरको उचित व्यवस्थापन हुन सकेको छैन ।
स्थानीयको जनजीवन दिसाजन्य बस्तुबाट उत्पन्न विभिन्न सरुवा रोग र प्रदुषणले कष्टकर बन्दै गएको गुनासो गरिरहेका छन् ।
कारागारबाट दैनिक पाँच हजार लिटर भन्दा बढी फोहोर पानी निस्कने गरेको छ । यसैगरी मलमूत्रको हिसाव नै नभएको स्वीकार गर्ने कारागार प्रशासनले उचित पहल नगरेको पीँडित स्थानीय नागरिकको गुनासो छ । कुनै पनि किसिमको फोहोर व्यवस्थापन हुन उचित संरचना बन्नु पर्ने माग स्थानीय समुदायले गर्न थालेको २० वर्ष बितिसक्यो । यस अवधिमा कारागारको उत्तरतिर एउटा शोष ट्याङ्की त निर्माण भयो तर पनि बस्तीतिर बग्ने फोहोर पानी रोकिएको छैन ।
जिल्ला प्रशासन कार्यालय, भद्रपुर नगरपालिका र अन्य निकायसंँग हारगुहार गर्दा पनि केही नलागेको पीडित स्थानीय भिष्मराज भट्टराईले गुनासो पोखे ।
कारागार आसपास क्षेत्रमा फोहोर पानी र दिसाजन्य फोहोर बढीदुर्गन्ध भएर हिउँदमा निकै फैलिने गरेको छ । कारागार भित्रको फोहार पानी त्यँही वरिपरि बग्ने भएकोले संधै दुर्गन्ध र फोहोरसंँग लुकामारी गर्नुृ पर्ने बाध्यता रहेकोले स्वास्थ्यमा समस्या आउने गरेको पीँडितहरूको दुखेसो छ । उनीहरूका अनुसार सो क्षेत्रमा फोहोरका कारण खेती बाली लगाउन सक्ने अवस्था अझैसम्म नरहँदा बिघौं जमिन बाँझिएको वर्षौं भएको छ ।
स्वच्छ वातावरणमा जीवनयापन गर्ने हाम्रो अधिकारलाई जिल्ला कारागारबाट निस्कने तथा उत्पादन हुने फोहोरले अतिक्रमण गरेको भन्दै पीँडितहरू यसलाई समयमै ध्यान दिएर जिम्मेवार निकायले रोक्न नसकेको आरोप लगाउँछन् । नागरिकको जीवन संकटमा पार्ने दिसाजन्य फोहोर व्यवस्थापन नगरी स्वच्छ वातावरणमा बाच्न पाउाने अधिकार हनन् भइरहने पीँडित स्थानीयको आरोप छ ।
देखिने गरी दुई दर्जन घर फोहोरको डुवानमा परेका भए पनि कारागारको फोहोरजन्य पानीको अस्त व्यस्तताले झापाको सदरमुकाम आसपासका हजारौं नागरिकमा स्वास्थ्यप्रति नकारात्मक असर परिरहेकोे छ ।