Kanakai Online

‘टिम हार्दा कीर्तिमान व्यर्थ लाग्यो’ – सन्दीप


मङ्गलवार, असार ५, २०८१ |

कनकाई अनलाईन
सेन्ट भिन्सेन्ट – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आइसीसी टि२० विश्वकप अन्तर्गत आइतबार सम्पन्न खेलमा बंगलादेशविरुद्ध आफ्नो टि२०आई करिअरको १ सयौं विकेट लिए ।

सन्दीपले बंगलादेशविरुद्ध २ विकेट लिँदै करिअरमा १ सय विकेट पूरा गरे । उनले ५४ खेलमा यो उपलब्धि पूरा गरे । उनी ५३ खेलमा १ सय विकेट लिएका अफगानिस्तानका राशिद खानपछि सर्वाधिक छिटो १ सय विकेट पुर्याउनेको दोस्रो स्थानमा रहे ।

उनले १४ औं ओभरमा तन्जिम हसन शाकिबलाई बोल्ड गर्दै पहिलो विकेट लिए । त्यसपछि १६ औं ओभरमा जाकेर अलीलाई बोल्ड गर्दै सन्दीपले १ सय विकेट पूरा गरेका थिए । खेलपछि बोल्दै सन्दीपले टोली हार्दा आफ्नो कीर्तिमानको खासै महत्त्व नरहेको बताए ।
‘मैदानमा फर्कन पाउँदा एकदम राम्रो लाग्यो । दुई महत्त्वपूर्ण विकेट हात पार्दा हामी बलियो स्थितिमा थियौं । तर खेल आफ्नो पक्षमा आउन नसक्दा भने आफ्नो विकेट पनि व्यर्थ भएजस्तो महसुस भएको छ । हाम्रो ब्याटिङ हेर्दा निकै दुख लागेको छ र आज जित्नुपर्ने खेल थियो ।’

‘अघिल्लो खेलमा दक्षिण अफ्रीकाविरुद्ध १ सय १६ रन पछ्याउदा पनि मात्र १ रनले हार्यौं । आज पनि हामीले सहज रुपमा लक्ष्य पूरा गर्नुपर्ने थियो । टेस्ट राष्ट्रसँग खेल्दा हामीले उनीहरुको वरीयता भन्दापनि लगातार यी टोलीसँग खेल्न पाएको अवसर सदुपयोग गर्नुपर्छ ।’

‘हामीले उनीहरुलाई नहराएसम्म लगातर खेल्न पाइदैन । सबैजना दुखि छौं । नेपालमा रहेका समर्थक पनि हाम्रो प्रदर्शनमा खुसी हुनुहुन्न । हामीले यसलाई मनदेखि लिएर आउने दिनमा यस्तो अवसर आए सदुपयोग गर्ने प्रण गर्नेछौं ।’

सन्दीपले अमेरिकामा सम्पन्न विश्वकपका खेलमा सहभागी हुन नपाउँदा दुख लागेको र त्यो अवस्था आफ्नो नियन्त्रणमा पनि नरहेको बताए ।

सम्बन्धित खबर