Kanakai Online

नागरिकको हितमा उत्कृष्ट काम गर्दैः वडाध्यक्ष कार्की


सोमवार, असार ४, २०८१ |

सरोज भट्टराई

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ मा पालिकाकै ठूलो परियाजनामा काम भएको छ । नगरको ठूलो परियोजनाका कामहरु वडा नं. ६ मा बन्दा वडा नं. ६ अन्य वडा भन्दा भाग्यमानी सावित भएको छ । वडामा नगर अस्पतालन निर्माण सकिएर सञ्चालनको तयारीमा छ । नगरकै दक्षिण भेगमामा रहेको शिवगञ्ज बजार नगरकै पुरानो बजारको रुपमा परिचित छ । यहाँका अधिकांश समुदाय कृषिमा आश्रित छन् ।
कृषकहरुको उत्पादनलाई ध्यानमा राख्दै शिवसताक्षीको वडा नं. ६ शिवगञ्जमा कृषि थोक बजार सञ्चालनको तयारीमा रहेको छ । उक्त बजारबाट कृषि उत्पादन बस्तुहरु थोक तथा खुद्रा विक्री वितरण गरिने वडा नं. ६का वडाध्यक्ष मनोज खुलाल कार्कीले जानकारी दिए । वडाध्यक्ष कार्कीका अनुसार शिवगञ्जमा कृषि थोक बजार व्यवस्था हुनु वडाको मात्र नभएर नगरै ठूलो उपलब्धी रहेको छ ।
वडाले कृषिलाई प्राथमिकता दिदै ६ नं. वडा, सुपारी खेतीबाट हराबरा भन्ने नाराका साथ सुवारी खेतीलाई समेत प्रत्साहन गरिएको छ ।सुपारी खेतीबाट आम्दानी गर्न सकिन्छ भन्ने उद्देश्यले वडा कार्यालयले दुई वर्षमा किसानलाई ५ हजार थान विरुवा वितरण गरेको छ । वडाले गत वर्षदेखि नै किसानलाई तोरी र बगर खेतीमा अनुदान दिदै आएको छ । यस वर्ष किसानहरुले उल्लेख्य मात्रमा तोरी उत्पादन गरेको अध्यक्ष कार्कीको भनाई छ । तोरी खेतीमा चालु आर्थिक वर्षमा वडाबाट २५ हजारदेखि ५० हजारसम्म किसानले अनुदान प्राप्त गरेको वडा कार्यालयको तथ्यांकमा उल्लेख छ ।
वडाका विपन्न समुदायलाई स्वास्थ्य विमा कार्यक्रम लागु गरिएको छ । वडा नं. ६ स्वास्थ्य विमा लागु गर्ने नगरकै पहिलो वडा हो । वडा नं. ६ ले लागु गरेको स्वास्थ्य विमा कार्यक्रमबाट नागरिकले लाभान्वित महशुष गरेपछि हाल नगरका अधिकांश वडाहरुले स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरेका छन् । चालु आ.व.मा वडा ३० घर परिवारका १४१ जना नागरिकलाई निशुल्क स्वास्थ्य विमा गरिएको वडाध्यक्ष खुलालले जानकारी दिए ।
त्यस्तै चालु वर्षमा बालबालिका स्वास्थ्यलाई मध्यनजर राख्दै वडाले सामुदायिक तथा नीजि विद्यालयका छात्र छात्राहरुलाई विशेषज्ञ डाक्टरहरुद्वारा मुटु सम्बन्धी निशुल्क स्वास्थ्य परीक्षण गराउने तयारी रहेको वडा कार्यालयले जनाएको छ ।
विपन नागरिकलाई मृत्यु संस्कार राहत कार्यक्रम सञ्चालन गरिएको छ । नागरिकको मृत्यु भएका घरपरिलाई वडाकार्यालयले नगद ५ हजार राहतसहित समवेदना पत्रद्वारा शोकाकुल परिवारलाई मलम पट्टी लगाउने काम गर्दै आएको छ ।
बालबालिकाहरुलाई गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान वडाले गर्न ४ जना शिक्षकहरुको व्यवस्थापन गरिदिएको छ । वडाको विद्यालयमा शिक्षक अभावका कारणले पठन पाठनमा समस्या भएपछि वडाले नै ३ ओटा प्राविमा ४ शिक्षकको व्यवस्थापन गरिदिएको वडाध्यक्ष मनोज खुलाल कार्कीको भनाई छ । उक्त विद्यालयहरुमा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइदै आएको छ भने शिक्षक र विद्यार्थीहरुलाई कम्प्युटर सिकाई र इन्टरनेटको पहुँच पुर्याउन वडाले बजेटको व्यवस्थान गरेर काम गरेको छ । वडाको एकमात्र क्याम्पास शिवगञ्ज बहुमुखी क्याम्पसले जग्गा प्राप्त गरिसकेकाले र हाल नमुना विद्यालयको रुपमा विकास भइरहेको छ ।
महिलाहरुलाई उद्यमी बनाउन सिलाई कटिङ्ग तालिमहरु सञ्चालन गरेर १३ जना महिलाहरुलाई लुगा सिउने मेसिन हस्तान्तरणकोलागि वडाले तयारी गरेको छ । नगरकै पुरानो शिवगञ्ज बजारको व्यवस्थापन गर्दै बजार क्षेत्रमा ढल निर्माणको कामअन्तिम चरणमा छ । राष्ट्रिय योजना आयोगबाट गत वर्ष विशेष अनुदान मार्फत गत वर्ष १ करोड १५ लाख बजेट प्राप्त गरेको र यसमा नगरपालिकाको पनि सहयोग रहेको छ । यस वर्ष पनि उक्त योजनाका राष्ट्रिय योजना आयोगबाट १ करोड ४५ लाख विनियोजन भएको छ । उक्त रकमले शिवगञ्ज बजारमा ढल निर्माणले पूर्णता पाउने वडाध्यक्ष खुलालको भनाई छ।
शिवगञ्ज बजार मनोहरा टोल, हल्लाहर चौक, ठगबस्ती, हल्दीबारी लगायत वडाका मुख्य क्षेत्रहरुमा सडक बत्तीको व्यवस्था गरिएको छ । वडाले मुख्य सडकहरुलाई कालो पत्रे गर्नका लागि संघीय सरकार, प्रदेश सरकार र नगरपालिकासँग समन्वय गरेर काम गर्दै आएको छ । शिवगञ्ज हल्लाहर चौक सडक कालो पत्रेको तयारी छ भने, अन्य भित्री सडकहरु समेत कालो पत्रे गरी स्तरोन्नतीका क्रममा छन् । सहरी विकास मन्त्रालयबाट विनियोजित शिवगञ्ज बजारबाट नवकिरण विद्यालय हुँदै वडा कार्यलयसम्म आउने बाटो ७० लाखको लागतमा ड्रेन सहित स्तरोन्नतीको काम अन्तिम चरणमा पुगेको छ।
सामाजिक विकास मन्त्रालय र नगरपालिकाको बजेटबाट वडा कार्यालय नजिकै शिवगञ्ज निर्णाधिन कभर्डहल पनि निर्माणको चरणमा छ । आउँदो आर्थिक वर्ष भित्र निर्माण कार्य पुरा गरी सञ्चालनमा आउने छ ।
पशु विमा कार्यक्रम माफर्त पशुपालक कृषकहरुले राहत महशुष गरेका छन् । वडाका एक कृषकलाई ९० हजार सम्म विमाबाट रकम प्राप्त गरेको वडाध्यक्ष खुलालले जानकारी दिए । वडाले मानव स्वास्थ्यका लागि खुल्ला व्यायम शाला समेत सञ्चालनमा ल्याएको छ । वडाका मुख्य शिवगञ्ज बजार, हल्लाहरचौक, ठग बस्ती क्षेत्रहरुमा वाइफाइ जोन निर्माण गरेको छ। जसबाट नागरिकले फ्रि वाइवाई सेवा प्राप्त गरेका छन् ।
त्यस्तै वडाको चुनौतिको रुपमा कनकाई नदि, कमल बनियानी, सतासी खोला कटानबाट पीडित बनेका नागरिकहरुलाई राहत सामाग्री वितरण गरेको छ । सतासी खोलामा तटबन्धनको काम समेत भइरहेको छ । वडाले विपत व्यवस्थापनका लागि पनि उल्लेख्य काम गर्दै यस वर्षको मनसुन सरु भइसककाले वडाको विपत व्यवस्थापनको टोलीलाई तयारी अवस्था राखिएको वडाध्यक्ष खुलालले बताए । ज्येष्ठ नागरिकहरुलाई मध्य नजर गर्दै सहारा नेपालको साझेदारी २० लाखको लागतमा ज्येष्ठ नागरिक चौतारा निर्माण गरिएको छ । समग्रमा चालु आर्थिक वर्षमा ८० प्रतिशत कामहरु सम्पन्न भएका छन् । वडालाई नगरकै उत्कृष्ट र नमुना वडाको रुपमा विकास गर्न लागि परेको वडाध्यक्ष कार्कीको भनाई छ ।

सम्बन्धित खबर