Kanakai Online

स्पिन बलिङमा युवा सागरको साथ


मङ्गलवार, जेठ २२, २०८१ |

कनकाई अनलाईन
आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणका लागि घोषित नेपाली टोलीमा रहेका खेलाडीमध्ये सागर ढकाल सबैभन्दा कम अन्तर्राष्ट्रिय अनुभव बटुलेका खेलाडी हुन् । २२ वर्षीय सागर ढकाल दायाँहाते स्पिन बलर हुन् ।

सागरले हालसम्म सिनियर राष्ट्रिय टोलीबाट आठवटा एकदिवसीय अन्तर्राष्ट्रिय र केवल तीनवटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको सात पालीमा उनले चार विकेट लिएका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन ३१ रन खर्चिएर दुई विकेट हो । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले कुल सात रन बनाएका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा एउटा क्याच पनि लिएका छन् ।

यसै गरी सागरले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताको तीन पालीमा बलिङ गर्दै केवल एक विकेट हात पारेका छन् । टी–२० अन्तर्राष्ट्रियमा एक पालीमात्र ब्याटिङ गर्ने अवसर पाएका सागरले रन भने बनाउन सकेका छैनन् ।

टी–२० अन्तर्राष्ट्रियमा डेब्यू
सागर ढकालले सन् २०२२ को फेब्रुअरी ११ तारिखमा ओमानविरुद्ध खेल्दै टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए । त्यो खेल पनि ओमानमै खेलिएको थियो । त्यो खेलमा उनले विकेट लिन सकेका थिएनन् । उक्त खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो ।

यसै गरी उनले अन्तिम टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता हङ्कङमा खेलेका थिए । त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत सन् २०२४ को मार्च ९ तारिखमा हङ्कङविरुद्ध खेलिएको उक्त खेलमा उनले विकेट लिन सकेका थिएनन् । त्यो खेलमा नेपाल ७३ रनले पराजित भएको थियो ।

लिस्ट ‘ए’ र टी–२०
सागर ढकालले हालसम्म १० वटा लिस्ट ‘ए’ प्रतियोगिता खेलेका छन् । लिस्ट ‘ए’ प्रतियोगितामा उनले ६ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन ३१ रन खर्चिएर दुई विकेट हो । लिस्ट ‘ए’ प्रतियोगितामा उनले कुल आठ रन बनाएका छन् । उनले एउटा क्याच पनि लिएका छन् ।

यसै गरी उनले हालसम्म नौवटा टी–२० प्रतियोगिता पनि खेलेका छन् । टी–२० प्रतियोगितामा उनले कुल ११ विकेट लिएका छन् । टी–२० प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन १७ रन खर्चिएर तीन विकेट हो । टी–२० प्रतियोगितामा उनले दुईवटा क्याच पनि लिएका छन् ।

पछिल्लो प्रदर्शन
टी–२० विश्वकप यात्रामा निस्कनुअघि उनले घरेलु मैदानमा वेस्ट इन्डिज ‘ए’विरुद्ध टी–२० शृङ्खला खेलेका थिए । पाँच खेलको शृङ्खलामा उनले तीन खेल मात्र खेलेका थिए । शृङ्खलाको दोस्रो खेलमा उनले १९ रन खर्चिएर दुई विकेट लिएका थिए ।

यसै गरी वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलमा उनले अविजित तीन रन बनाएका थिए भने ४१ रन खर्चिएर एक विकेट पनि हात पारेका थिए । शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा भने उनले उत्कृष्ट बलिङ गर्दै केवल १७ रन खर्चिएर तीन विकेट लिएका थिए । त्यो खेलमा नेपाल विजयी पनि भएको थियो ।

त्यसअघि उनले घरेलु मैदानमा आयरल्यान्डको ‘ए’ टोलीविरुद्ध टी–२० शृङ्खला खेलेका थिए । उक्त शृङ्खलाको तीन खेलमा उनले कुल चार विकेट लिएका थिए । उनले एउटा खेलमा एक र अर्को खेलमा तीन विकेट हात पारेका थिए ।

सम्बन्धित खबर