Kanakai Online

भद्रपुर क्रिकेट मैदानको पिच निर्माण सुरु


शुक्रवार, जेठ १८, २०८१ |

हिमाल खरेल
भद्रपुरको मेची बहुमुखी क्याम्पस हाताभित्र रहेको मैदानमा तीव्र गतिमा क्रिकेट खेल मैदान बनिरहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने उद्देश्यसाथ काम भइरहेको उक्त स्थानमा आज साँझ पिचका लागि सबबेस भर्ने काम सकिएको छ ।

बुद्धशान्तिबाट ल्याइएको माटो भरेर सबबेस बनाइएको मैदान निर्माणमा एक वर्षयता निरन्तर नेतृत्व गरिरहेका तथा खटिरहेका भद्रपुर ८ का वडा अध्यक्ष मनोज सुब्बाले बताए ।

यसअघि क्रिकेट मैदान काँसघारीमा परिणत भएको थियो । २०८० वैशाखदेखि श्रमदानमार्फत मैदान मर्मत–सम्भारको काम सुरु गरेको सुब्बाले जानकारी दिए ।
एक वर्षभित्र मैदानको काँसको झार काटेर, आगो लगाएर, डोजर लगाई जोताएर सम्याउने काम भएको थियो ।

मैदानलाई चाहिने दुबो ९घाँस० भारतबाट मगाउने प्रक्रियामा रहेको उनले बताए । कोशी प्रदेशमा विराटनगरबाहेक उपयुक्त क्रिकेट मैदान भद्रपुरकै रहेको उनको दाबी छ ।

मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन क्लबका पदाधिकारीहरू लागिपरेको भद्रपुर क्रिकेट क्लबका अध्यक्ष आदित्य पराजुलीको भनाइ छ ।

क्रिकेट मैदानको स्तरोन्नतिका लागि स्थानीय तह, प्रदेश र संघसहित नेपाल क्रिकेट संघ क्यानसँग पनि आवश्यक बजेट माग गरिने उनले जानकारी दिए ।

नेपाल क्रिकेट संघ कोशी प्रदेश समितिले क्याम्पसको क्रिकेट मैदानको सम्भाव्यता र अवस्थाका बारेमा स्थलगत निरीक्षण समेत गरिसकेको क्लबका सल्लाहकार दिपेश ढकालले जानकारी दिए ।

यसैबीच, क्लब र मेची बहुमुखी क्याम्पसबीच क्रिकेट मैदानका रुपमा स्तरोन्नतिका लागि जेठ १४ गते २५ वर्षसम्म भाडामा लिने भनी सम्झौता भएको थियो ।
यसअघि २०६५ जेठ २१ गते नेपाल क्रिकेट संघ र मेची बहुमुखी क्याम्पसबीच क्याम्पस परिसरमा क्रिकेट मैदान सञ्चालनका लागि दुई पक्षीय सम्झौता भएको थियो ।

संघको तर्फबाट सदस्य छत्रप्रसाद अधिकारी र क्याम्पसको तर्फबाट तत्कालीन क्याम्पस प्रमुख टिका प्याकुरेलले हस्ताक्षर गरेपश्चात क्रिकेट संघले क्रिकेट पिच बनाइदिएको थियो ।

२०६७ फागुनमा बिनेश बर्मा स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगितासमेत सोही मैदानमा सञ्चालन भएको थियो ।

सम्बन्धित खबर