कनकाई अनलाईन
अमेरिकामा बसोबास गर्ने नेपालीहरुको संस्था झापाली समाज युएसएको अगुवाईमा झापाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरिएको छ ।
मंगलवार बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी समाजले झापा जिल्ला सहकारी संघ र काठमाडौँस्थित झापा विकास मञ्चको सहकार्यमा छात्रवृत्ति प्रदान गरेको हो ।
झापाका सामुदायिक विद्यालयका विपन्न तथा मेधावी विद्यार्थीलाई तेस्रो वर्षको कार्यक्रमअन्तर्गत छात्रवृत्ति प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि झापाका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख राजकुमार विकले जिल्लाका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
झापाली समाज अमेरिकाले एउटा महत्वकांक्षी छात्रवृत्ति कार्यक्रम ‘एक व्यक्ति एक विद्यार्थी’ का लागि अभियान नै सञ्चालन गरेर रकम संकलन गरेको थियो ।
यसैबीच, झापा जिल्ला सहकारी संघले छात्रवृत्ति कोषको घोषणा गरेको छ । एक करोड रुपैयाँ कोष स्थापना गर्नेगरी घोषणा गरिएको हो ।
कोषका लागि संघका अध्यक्ष गणेश ढकाल र वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले एकएक लाख तथा सचिव भवानीप्रसाद दंगालले ५० रुपैयाँ प्रदान गर्नुभयो ।
कार्यक्रमका बीच झापाली समाज साउदी अरबियाका तर्फबाट संस्थापक अध्यक्ष मदन ओडारीले झापाली समाज युएसएका संस्थापक अध्यक्ष मुकुन्द ढुंगानालाई छात्रवृत्ति कार्यक्रमका लागि पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।
झापा जिल्ला सहकारी संघमार्फत जिल्लाका २२ वटा सहकारीले छात्रवृत्ति अभियानमा सहयोग गरेका छन् । झापाका सबै क्षेत्र समेटिने गरी सामुदायिक विद्यालयहरु छनोट गरिएको जनाइएको छ ।
यसैबीच, सोही कार्यक्रममा झापाली समाज युएसएले कनकाई नगरपालिकालाई शव वहान खरिद गरि त्यसको चाबी समेत हस्तान्तरण गरेको छ । अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुङ्गानाले कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई शव वाहनको चाबी प्रदान गर्नुभएको हो । झापाली समाज युएसएको पहलमा रकम संकलन गरी शव बहान खरिदका लागि रकम नेपाल पठाइएको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि विक, झापा विकास मञ्चका डक्टर आनन्द श्रेष्ठ, कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोख्रेललगायतले शुभकामना व्यक्त गरेका थिए ।
संघका सचिव भवानीप्रसाद दंगालले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष गणेश ढकालले गर्नुभएको थियो ।