कनकाई अनलाईन
मिडिया सम्मेलन गर्न भन्दै कनकाई नगरपालिकाले नगर बाहिरका पत्रकारलाई मोटो रकम खर्च दिएपछि यहाँका स्थानीय पत्रकार आन्दोदित बनेका छन ।
कनकाई नगरपालिकाका पत्रकारहरुको एकमात्र संस्थागत संस्था सुरुङ्गा प्रेस क्लवले कनकाई नगरपालिकालाई यसवारेमा ध्यानआकर्षणपत्रनै बुझाएको छ । प्रेस क्लवका अध्यक्ष राम निरौलाका अनुसार प्रेस क्लवलाई कनकाई नगरपालिकाले बजेट नभएको भन्दै २५ हजार रुपैँया मात्रै सहयोग गरेपछि उक्त रकम नलिने निर्णय गरिएको थियो तर अर्को पत्रकार महासंघ झापालाई भने सम्मेलन गर्न भन्दै ५ लाख भन्दा बढी रकम विनियोजन गरेको थाहा पाएसछि यस क्षेत्रका पत्रकारहरु आन्दोलनमा उत्रिएका हुन ।
हामीले अन्य पत्रकारलाई पत्रकारजन्य संस्थालाई रकम नदिनु भनेकै होईन तर नगरबाहिरका संस्थालाई १ लाख दिदा नगरभित्रका संस्थालाई कम्तीमा २ लाख रुपैँया कार्यक्रमका लागि दिनुपर्यो यहाँका पत्रकारको क्षमताका लागि नगरले खर्च गर्नुपर्यो प्रेस क्लव सुरुङ्गाका सचिव मनोज बस्नेले भन्नुभयो । यता पत्रकार महासंघ कोशी प्रदेशका सदस्य समेत रहनुभएका कनकाई साप्ताहिकका सम्पादक लीलाराज झापालीले नगरपालिका कसैको प्रभाव र दवावमा परेर स्थानीय पत्रकारलाई बायस गरिएको भए संघियतामाथिकै भद्धा मजाक भएको बताउँनुहुन्छ । हामीले स्थानीय पत्रकारको संस्थालाई सहयोग गर्नुपर्छ यो मानविय मुल्य मान्यता मात्रै नभएर नगरपालिकाको न्युनत्तम कतव्र्य समेत हो । झापालीले भन्नुभयो ।
यता झापाको कनकाई नगर क्षेत्रमा क्रियाशील पत्रकारहरुको संस्था सुरुङ्गा प्रेस क्लवले कनकाई नगरपालिकाको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
प्रेस क्लवको संस्थागत विकास साथै संचारकर्मीहरुको क्षमता अभिवृद्धिका लागी कनकाई नगरपालिकामा हरेक वर्ष कार्ययोजना सहितको प्रस्तावना–पत्र पेश गरिएको भएपनि नगरपालिकाले संस्थागत रुपमा कुनै पनि सम्बोधन नगरेको भन्दै क्लवका तर्फबाट नगरपालिकाको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइएको हो ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको अनुपस्थिती रहेका कारण प्रमुख प्रशासकीय अधिकृत जमुना कटुवाल साथै सुचना प्रविधि अधिकृत खगेन्द्र मिश्रलाई क्लवका तर्फबाट सचिव मनोज बस्नेत र अध्यक्ष रामप्रसाद निरौलाद्वारा हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्र बुझाइएको हो ।
सोही अवसरमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कार्यसमिति सदस्य लीलाराज झापाली, सुरुङ्गा प्रेस क्लवका अध्यक्ष रामप्रसाद निरौला, नारी संचार गृह झापाकी संस्थापक अध्यक्ष एवं सुरुङ्गा प्रेस क्लवकी उपाध्यक्ष सावित्रा दहाल, सचिव मनोज बस्नेत, कोषाध्यक्ष चुडामणि तिम्सिना सहितको उपस्थिती रहेको थियो ।
क्लवमा आवद्ध पत्रकारहरुबाट स्थानीय सरकारले गरेको गतिविधिलाई स्थानीय तथा राष्ट्रिय स्तरका विभिन्न सञ्चार माध्यमबाट प्रकाशन तथा प्रसारण गरी नगरको विकासमा सधैं रचनात्मक भूमिका खेल्दै आएपनि नगरपालिकाको तर्फबाट संस्थागत रुपमा कुनैपनि सहकार्य नभएको जनाइएको छ ।
स्थानीय स्तरमा क्रियाशिल पत्रकारहरुको संस्था सुरुङ्गा प्रेस क्लवको नाममा बजेट बिनियोजन नहुनु, स्थानीय सञ्चारकर्मीहरुलाई कुनैपनि सूचनामूलक सामाग्रीहरु उपलब्ध नगराउनु तर नगर बाहिरका अन्य पत्रकारजन्य संघसंस्थालाई भने कार्यक्रम संचालनकालागी मोटो रकम सहयोग गरेको प्रति क्लवको गम्भिर ध्यानाकर्षण भएको पत्रमा जनाइएको छ ।
नगर क्षेत्रमा क्रियाशील पत्रकारहरुको संस्था सुरुङ्गा प्रेस क्लवको प्रस्तावलाई कार्यान्वयन नगर्ने कनकाई नगरपालिकाले नेपाल पत्रकार महासंघ झापा शाखाले यहि जेठ ५ गते संचालन गर्न लागेको मिडिया सम्मेलनका लागि मोटो रकम उपलव्ध गराउँने निर्णय गरेको छ । कनकाईबासीले तिरेको करको रकम मिडिया सम्मेलनका नाममा खर्च गर्ने गरी कनकाई नगरपालिकाबाट रकम बिनियोजन हुनु स्थानीय नगरबासीका लागी ठूलो अन्याय भएको प्रेस क्लवको ठहर छ । यसप्रति स्थानीय सरकार कनकाई नगरपालिकाको गम्भिर ध्यानाकर्षण गराउँदै आगामीदिनमा बजेट बिनियोजन गर्दा स्थानीय स्तरमा विशेष प्राथमिकता दिँदै अघि बढ्न सुरुङ्गा प्रेस क्लवका तर्फबाट अपिल गरिएको छ ।