कनकाई अनलाईन
पुर्वपश्चिम महेन्द्र राजमार्गको उर्लावारी नगरपालिका ३ नयाँ मंगलवारेमा हिजो बुधवार दिउसो साढे ३ बजे यात्रुबाहक बसको ठक्करबाट सख्त घाईते बन्नुभएका झापा कनकाई नगरपालिका ५ का ६५ बर्षिय खडगबहादुर श्रेष्ठको आज उपचारका क्रममा विएण्डसी अस्पताल बिर्तामोडमा निधन भएको छ ।
कनकाई नगरपालिका ५ चप्रामारीका ६५ बर्षिय श्रेष्ठ आफन्तको गुन्युचोली कार्यक्रममा सरिक भई घर फर्कने क्रममा उर्लावारी मंगलवारेमा एकछिन मोटरसाईकल रोकी सौच गर्न जानेक्रममा सडकमा बाटो काटदा पुर्वबाट पश्चिमतर्फ जादै गरेको को १ ख ६२९५ नम्बरको जनता यातायातको यात्रुवाहक बसले ठक्कर दिई सख्त घाईते बनाएको थियो । टाउकोमा गम्भिर चोट लागेका श्रेष्ठको स्थानीय अरनिको अस्पताल उर्लावारीमा उपचार सम्भव नभएपछि उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा आज दिउसो १२ बजेर २७ मिनेटमा निधन भएको छ । ठक्कर दिने यात्रुबाहक बस र यसका चालक धरान उपमहानगरपालिका १७ का ४९ बर्षिय हर्कबहादुर तामाङ्गलाई इलाका प्रहरी कार्यालय उर्लावारीले नियन्त्रणमा लिएको लिएको छ ।
यता बसको चालकको लार्पवाहीका कारण पैदल यात्रुको निधन भएको भन्दै पिडितका आफन्तले शव जिम्मा लिन मानेका छैनन । हाल मृतक श्रेष्ठको शवलाई विएण्डसी अस्पतालमै राखिएको छ । पिडित पक्षले गाडी सञ्चालक अस्पतालमा आउनुपर्ने र दुर्घटना गराउने सवारी चालकलाई हदैसम्मको कार्वाहीको माग पिडित पक्षले गरेका छन ।