कनकाई अनलाईन
लायन्स क्लव अफ कनकाई सुरुङ्गा र इलाका प्रहरी कार्यालय सुरुङ्गाको आयोजनामा केहि महिनादेखि चलाईको लागुऔषध बिरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । कनकाई नगरपालिकाका विभिन्न विद्यालयहरु कनकाई मावि, हरिकुल नमुना मावि, पशुपति अंग्रेजी मावि, सिंहदेवि मावि, भृकृटी मावि, झापा मेरिगोल्ड, सरस्वती मावि, प्यारागन एकाडेमी, देवकोटा एजुकेशन फाउण्डेशन, नवयुग शिक्षा निकेतन लगायातका कनकाईका सबै माध्यमिक विद्यालयहरुमा इलाका प्रहरी कार्यालय सुरुङ्गा र लायन्स क्लव अफ कनकाईको यस टोलीले कक्षा कक्षामा पुगेर लागुऔषध र यसका नकरात्मक असरका वारेमा इलाका प्रहरी कार्यालयका प्रमुख बरिष्ठ प्रहरी नायव निरिक्षक प्रविणकुमार भट्टराईले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
सो अवशरमा प्रहरी र यस सम्बन्धि जानकारहरुबाट साईबर अपराध, ट्राफिक नियम कानुन र लागुऔषधका वारेमा सचेतना प्रदान गरिएको थियो । लायन्स क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष लायन सन्जय गजुरेल, लायन्स क्लव अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष समेत रहनुभएका लायन्स क्लवका डिस्टिक क्याविनेट सेक्रेटरी लायन लीलाप्रसाद चिमरिया लगायातको टोलीले विद्यालयको कक्षा कोठामै पुगेर विद्यार्थी र अभिभावक समेतलाई लागुऔषध र साईबर अपराधका वारेमा सचेतना प्रदान गर्दै आउँनुभएको थियो । यसरी कनकाई नगरपलिका क्षेत्रका हज्जारौ विद्यार्थी र अन्य सर्वसाधरणलाई समेत सचेतना प्रदान गर्दै कनकाई माध्यमिक विद्यालय सुरुङ्गाबाट सुरुवात भएको यस सचेतना अभियानको आज विशेष कार्यक्रम गरि लायन्स भवन सुरुङ्गामा एक महिने अभियानको समापन गरिएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले झापामा रहेका कैदीबन्दी मध्ये आधाभन्दा बढी युवाहरु लागुऔषधका रहेको भन्दै यस्तो अवस्थामा लायन्स क्लवले यसप्रकारको प्रहरीसग सहकार्य गरेको भन्दै लायन्स क्लव अफ कनकाई सुरुङ्गालाई धन्यावाद दिनुभयो । विद्यार्थी र अभिभावकहरुले समेत यहाँ सिकेका कुरालाई समाजमा लगेर सचेतना फैलाउन मद्धत गर्न समेत प्रमुख जिल्ला अधिकारीले अनुरोध गर्नुभयो । युवा बर्गलाई लागुऔषधका कारण भविष्यसम्ममा पार्न सक्ने प्रभाव र समाजको नकरात्मक दिशालाई रोक्न यस्ता कार्यक्रम र अभियान निरन्तर चलिरहनुपर्नेमा बास्तोलाको जोड थियो । लागुऔषध प्रयोगकर्तालाई सुरुमै यसप्रकारका मनोपरामर्शमा लैजान सकियो भने गम्भिर परिणामबाट समाजलाई बचाउन सकिने प्रमुख जिल्ला अधिकारीको भनाई थियो ।
यता झापाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मिलन केसीले युवा अवस्थादेखि लागेको लागु औषधको लत पछिसम्म रहनेहुदा समस्या गम्भिर बन्दै गइरहेको बताउँनुभयो । सुरुमा १५÷१६ बर्षकै उमेर समुहमा साथीहरुको लहडमा लागेर टेष्ट गरौ नत भनेर सुरुवात गरेको यस लागुऔषधको लतलाई पछिसम्म छाडन नसकेको हामीले पाएका छौ यसले समाज मात्रै नभएर घरपरिवार र देशनै बर्वादीको दिशामा गइरहेको प्रहरी प्रमुखको भनाई रहेको छ ।
झापा जिल्लामा चल्ने मुद्धा मध्ये ७० प्रतिशतसम्म लागुऔषधको हुनुले समेत अबका केहि बर्षभित्रै यहि अवस्था विद्यमान रहिरहने हो भने लागुऔषध प्रयोगकर्ता बढेका कारण समाजमा राम्रा युवाको उपस्थिति नगन्य रुपमा मात्रै हुनसक्ने तर्फ संकेत गर्दै प्रहरी प्रमुख केसीले सरकारका तीनै तह र समाजका सबैपक्षले यसलाई गम्भिर रुपमा लिइदिन र कार्यक्रमहरु सञ्चालन गर्न समेत आग्रह गर्नुभयो । लागुऔषध प्रयोगकर्ता समाजमा हुनुभनेको कुनै न कुनै रुपमा अपराधकर्ममात्रै बढनु हो भन्दै सभ्य समाजका लागि यो कलंक भएको प्रहरी प्रमुख केसीले बताउँनुभयो । झापामा धुलो प्रकार ब्राउनसुगर लगायातका लागुऔषधहरु बढी मात्रमा प्रयोगमा आउने गरेको केसीले बताउँनुभयो । खुल्ला सिमाका कारण छिमेकी मुलुकबाट सहजै यो पदार्थ नेपाल भित्रिहरुको भन्दै यसको रोकथामका लागि समाजका सबैपक्ष सचेत हुनुपर्ने र यसको न्युनिकरणका लागि लायन्स क्लव अफ कनकाई सुरुङ्गाको अभियानले मद्धत मिलिरहेको बताउँनुभयो ।
कार्यक्रममा बोल्दै लायन्स क्लव अप कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष समेत रहनुभएका लायन्सका क्याविनेट सेक्रेटरी लीलाप्रसाद चिमरियाले जहाँ समस्या त्यहाँ लायन्स भन्ने लायन्सको मुल नारा समेत भएकोले समाजमा समस्याका रुपमा रहिआएको लागुऔषध न्युनिकरणका लागि इलाका प्रहरी कार्यालय सुरुङ्गासग मिलेर एक महिने अभियान सञ्चालन गरेको र यसबाट हज्जारौ विद्यार्थी र सर्वसाधरण यस अभियानबाट लाभान्वित हुदै समाजलाई लागुऔषधको दलदलबाट माथि लैजान केहि योगदान पुग्ने विश्वास व्यक्त व्यक्त गर्नुभयो ।
कार्यक्रममा लायन्सका प्रथम भिसी डिस्ट्रिक गर्भनर विकास अधिकारीले विद्यार्थीकालदेखिनै सहि संगतमा लाग्नुपर्ने भन्दै लागुऔषधमा समेत संगतका कारण दुव्यर्सनीमा फस्दै गएकोले यस्ता कार्यक्रमले सहयोग गर्ने बताउँनुभयो ।
कार्यक्रममा डाक्टर श्रद्धा भण्डारी र विरेन्द्र यादवले उपस्थित सबैका लागि मनोपरामर्श र लागुऔषधका लतका कारण जीवनमा भोग्नुपर्ने विविध समस्या र यसबाट छुटकारा पाउन अपनाउँनुपर्ने तरिकाका वारेमा बताउँनुभएको थियो ।
यता इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख बरिष्ठ प्रहरी नायव निरिक्षक प्रविण भट्टराईले कनकाई नगरमा भइरहेको मुख्य समस्याका रुपमा रहेको लागुऔषधको समस्या र यसबाट युवा बर्गले कसरी छुटकारा लिन सकिन्छ भन्नेवारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
लायन्स क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष सन्जय गजुरेलको सभापतित्व तथा लायन्स क्लव अफ कनकाई सुरुङ्गाका पुर्वअध्यक्ष मनोज बस्नेतको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा प्रहरी उपनिर्देशक राष्ट्रिय अनुसन्धान झापाका प्रमुख कुलचन्द्र न्यौपाने, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सुरज कार्की लगायातको उपस्थितिमा यस क्षेत्रका विद्यार्थी र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
प्रहरी र लायन्स क्लव कनकाई सुरुङ्गाको यस अभियानलाई अर्को चरणमा समेत निरन्तता दिदै लैजाने लायन्स क्लवका अध्यक्ष सन्जय गजुरेललले बताउँनुभयो ।