Kanakai Online

आर्मी झापा गोल्डकपको फाईनलको होडबाट बाहिरियो


शुक्रवार, फागुन २५, २०८० |

कनकाई अनलाईन
झापा गोल्डकपको चारपटकको उपाधि बिजेता त्रिभुवन आर्मीलाई सेमिफाईनलमा रोक्दै अर्को विभागित टिम सशस्त्र प्रहरीको एपिएफ फुटबल टिम झापामा जारी छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।
त्रिभुवन आर्मी फुटबल क्लबको चुनौतीलाई १–० गोलअन्तरले हराउँदै एपिएफ फाइनल प्रवेश गरेको हो । जितसँगै एपिएफले कम्तिमा ७ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ ।
एपिएफले आर्मीको अनगोलको उपहारबाट फाइनल यात्रा तय गरेको हो । एपिएफका विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरेको बल खेलको ७०औँ मिनेटमा आत्मघाती भएको थियो । फोफोनाको प्रहार आर्मीका रक्षक कमल थापालाई लाग्दै गोलमा परिणत भएसगै विभागित टिम एपिएफ भाग्यशाली बनेको छ । अव उसले सोमवार अर्को टिम आयोजक झापा ११ र लिग च्याम्पियन समेत रहेको चर्च ब्वाईज बिचको बिजेतासग फाईनलमा भेट पक्का गरेको हो ।
आजको खेलको पहिलो हाफ दुवै टोलीले रक्षात्मक खेल खेलका थिए । खेलको ४२औंँ मिनेटमा फोफोनाले दिएको क्रस पासमा एपिएफका अनिश महर्जनले गोल गर्न सक्नुभएन । ४७औँ मिनेटमा सर्ज सोङले पेनाल्टी एरियाबाट गरेको प्रहार बारको नजिकबाट बाहिरियो । ६९औँ मिनेटमा बुद्धिमान राईले पेनाल्टी एरियाबाट गरेको प्रहार फितलो हुनपुग्यो ।
चारपटकको विजेता आर्मीले भने सशस्त्र प्रहरीसँग रक्षात्मक खेल खेलेको थियो । आर्मीले सशस्त्रविरुद्ध खासै मुभ सिर्जना गर्न सकेन । खेलको ४३औँ मिनेटमा कप्तान भरत खवासले बक्सभित्र पाएको बललाई प्रहार गर्न नसक्दा खेलमा अग्रता लिन आर्मी असफल भएको थियो ।
खेलको प्लेयर अफ द म्याच विजेता टोली सशस्त्र प्रहरीका फोडे फोफोना हुनुभयो उहाँले नगद ११ हजार रुपैयाँ पुरस्कार पाउनुभयो ।

प्रतियोगितामा ए डिभिजन क्लबसहित नेपालका १० टिमको सहभागिता रहेको छ । फाइनल खेलको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी र उपविजेताले नगद ७ लाख पाउनेछ ।
फोटो ः एपिएफ (पहेलो जर्सी) र आर्मी(हरियो जर्सी) क्लवका खेलाडीहरु प्रतिस्पर्धा गर्दै