कनकाई अनलाईन
झापा,फागुन १० । निक्षेपकर्ताको लाखौं रकम फिर्ता नगरी हिनामिना गरेका शिवसताक्षी नगरपालिका वडा नं। ३ पाराबारीस्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनालले उल्टै धम्की दिन थालेका छन् ।
झापा क्षेत्र नं।४ ‘क’ का प्रदेश सभा सदस्य राधाकृष्ण खनालका छोरा सुमनले राजनीतिक शक्तिको आँडमा सर्वसाधारणको बचत फिर्ता नगरी उल्टै गालीगलौज र धाकधम्की दिने गरेका हुन् । उन्नति साकोसले ७४३ जना निक्षेपकर्ताको करिव १ करोड ६३ लाख रुपैयाँ फिर्ता गरेको छैन । करिव दुई वर्षदेखि सो सहकारी बन्द रहेको छ । बचत फिर्ताका लागि करिव एक सय सदस्यहरुले शिवसताक्षी नगरपालिकामा उजुरी दिएका छन् । पचासभन्दा बढी पीडित सदस्यहरुले एक्लाएक्लै बचत फिर्ताका लागि शिवसताक्षी नगरपालिकामा उजुरी दिएको सहकारी शाखाका बद्री दाहालले बताए । विष्णुप्रसाद सापकोटाको १ लाख ६१ हजार , देवीमाया सापकोटाको ३० हजार , बेबिसा र बेबिका सापकोटाको ५० हजार , तुलसा सापकोटाको ७ हजार , लीला सापकोटाको ७० हजार ,गोमा सापकोटाको ४० हजार , दिलकुमार तामाङको ३ लाख १५ हजार , मनमाया बस्नेतको ४ लाख ५० हजार ,धनमाया बस्नेतको २ लाख ९५ हजार तालामणि सतारको १ लाख ६३ हजार ७०० ,सुनिता श्रेष्ठको १९ हजार ५५९ , मनकुमार श्रेष्ठको ७ हजार , एनकुमारी लिम्बूको ५ हजारलगायतको रकम सहकारीले फिर्ता नगरेको सदस्यहरुले तथ्यांक उपलव्ध गराएका छन् ।
सहकारीका अध्यक्ष खनालले राष्ट्रिय स्वतन्त्र पार्टी झापा क्षेत्र नं।४ का सभापति शम्भु ढकाल सुस्केरालाई गालीगलौज गरेका हुन् । फागुन ८ गते मंगलवार बेलुकी खनालले ढकाललाई फोन गरी तथानाम गालीगलौज गरी ‘जे पनि गर्छु ’भन्ने धम्की दिएको रास्वपाका जिल्ला सभापति उमेश खरेलले विज्ञप्ति जारी गरी जनाएका छन् । सभापति खरेलले राजनीतिक शक्तिको आँडमा देखाएको यस्तो गुण्डागर्दी शैली रास्वपालाई सह्य नहुने चेतावनी दिँदै बचतकर्ताको रकम ठगी, गालीगलौज र धम्कीप्रति सार्वजनिक रुपमा क्षमा याचना गरी समस्या समाधान गर्न सम्बन्धित पक्षलाई अनुरोध गरेका छन् । उनले पीडितलाई न्याय र अपराधीलाई दण्डित गर्न यथाशिघ्र पीडितबाट जाहेरी लिएर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको ध्यानाकर्षण गराएका छन् ।
अध्यक्ष खनालले ढकाललाई गालीगलौज गरेको कुराकानीसहितको अडियो रास्वपाले सामाजिक संजालमा सार्वजनिक गरेको छ । उन्नति साकोसको बचत फिर्ता गराउन रास्वपाले ढकालको अगुवाईमा खबरदारी अभियान संचालन गरेको थियो । सोही खबरदारी अभियानअन्तर्गत ढकालले एउटा भिडियो सार्वजनिक गरेका छन् । अध्यक्ष खनालका बुवा प्रदेश सांसद राधाकृष्ण खनालसँगको फोन संवादमा स्थानीयहरु ठगिएको कुरा उनले स्वीकार गरेपनि आफूले समस्या समाधान नगर्ने भनेपछि भिडियो सामग्री सार्वजनिक गर्न बाध्य भएको सभापति खरेलले जनाएका छन् । सहकारी पीडित स्थानीयका अनुसार प्रदेश सांसद खनालले गत वर्षको मंसिर ४ को निर्वाचनमा उम्मेद्वारका रुपमा घरघरमा गई आफूलाई जिताए आफ्नो छोराबाट सिर्जित सहकारीको समस्या समाधान गर्ने बचन दिएका थिए ।
सो सहकारीको संचालक समितिको अध्यक्षमा सुमन खनाल ,उपाध्यक्ष विमला भट्टराई , सदस्य रुद्रप्रसाद सुवेदी , सोमनाथ अधिकारी , विष्णु दंगाल ,गोमा काफ्ले र राजकुमार तिवारी रहेका छन् । त्यस्तै लेखा समितिको संयोजकमा सुमन कटुवाल , सदस्यहरुमा भिमा ढकाल र हिमादेवी बाँस्तोला रहेका छन् भने सल्लाहकार समितिको संयोजकमा अग्निप्रसाद सापकोटा तथा सदस्यहरुमा चुडामणि बुढाथोकी , पूर्णबहादुर विष्ट घिमिरे , दुर्गा सम्बाहाम्फे र चन्द्र भण्डारी रहेका छन् । सहकारीका सदस्यहरुले १ करोड ६३ लाख निक्षेप फिर्ता नगरेको बताइरहँदा लेखा समितिका संयोजक कटुवालले करिव ५० लाख निक्षेप फिर्ता गर्न बाँकी रहेको बताएका छन् । प्रतिदिन दैनिक अनलाईनबाट