Kanakai Online

३९ जनाले गराए बिर्तामोड उद्योग वाणिज्य संघमा मनोनयन दर्ता


आइतवार, फागुन ६, २०८० |

कनकाई अनलाईन
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको १९ पदको निर्वाचनका लागि एकजना स्वतन्त्रसहित ३९ जना उमेरदवारले मनोनयन दर्ता गरेका छन् । फागुन १४ गते हुने निर्वाचनका लागि आज ९आइतबार०लाई मनोनयन दर्ताका लागि तोकिएको थियो ।

वाणिज्य संघको चुनावका लागि मुख्य गरी लोकतान्त्रिक व्यवसायीक समूह र स्वतन्त्र व्यवसायीक समूहले उम्मेदवारी दर्ता गरेका छन् भने सदस्य पदका लागि एक जनाले स्वतन्त्र मनोनयन दर्ता गराएका छन् । बिर्तामोडका स्टील तथा आलमुनियम व्यवसायी समिल राईले सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

नेपाली कांग्रेस र नेकपा समाजवादी निकट व्यवसायीहरुको लोकतान्त्रिक व्यवसायीक समूहको तर्फबाट अध्यक्षमा राजु न्यौपाने, वरिष्ठ उपाध्यक्षमा सञ्जीव घिमिरे, उद्योग उपाध्यक्षमा विशाल थापा, वाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का, जनसम्पर्क उपाध्यक्षमा राधिका चुडाल र महासचिव पदमा कुशल खतिवडाले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै, उद्योग सचिवमा पुकार बराल, वाणिज्य सचिवमा राजकुमार साह, कोषाध्यक्षमा दिपक मित्तल र सहकोषाध्यक्ष तिलोत्तमा खत्री छन् ।

सदस्यमा योगेश शर्मा भट्टराई, दिनेश श्रेष्ठ, अनन्तलाल महतो, रमेश घिमिरे, डिल्लीराम कोइराला, अरुण जैन, श्यामकृष्ण पाठक, महिला सदस्यमा सुशीला बस्नेत र निशा शाह गुप्ताले उम्मेदावारी दिएका छन् ।

त्यस्तै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र स्वतन्त्र पार्टी निकट व्यवसायीहरुको स्वतन्त्र व्यवसायीक समूहको तर्फबाट अध्यक्षमा अर्जुनकुमार मैनाली, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे ९राजु०, वाणिज्य उपाध्यक्षमा गंगा मैनाली, उद्योग उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई, महासचिवमा कृष्ण पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै, उद्योग सचिवमा विसन लिम्बू, वाणिज्य सचिवमा कृष्ण चापागाईं, कोषाध्यक्षमा युवराज निरौला र सहकोषाध्यक्षमा निशा सोनी कर्णले उम्मेदवारी दर्ता गरेका छन् ।

खुला सदस्यहरुमा शत्रुघन रौनियार, कृष्ण बजगाईं, केदार खनाल, सोहनलाल राजवंशी, राकेशकुमार सिंह, रिता चौधरी, अमिर खान, महिला सदस्यमा चन्द्रा भट्टराई र सुष्मा उप्रेती सुवेदीले मनोनयन दर्ता गराएको निर्वाचन समिति सदस्य केशव भट्टराईले जानकारी दिए ।

मनोनयन दर्ताका लागि दुवै समूहका उम्मेदवारहरु फुलमाया र बाजागाजासहित वाणिज्य संघको कार्यालयमा आएका थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघमा पाँच हजार ६६१ मतदाता रहेका छन् । यसबाहेक १२ जना पूर्वअध्यक्षहरु मतदाता रहने छन् ।