Kanakai Online

झापा गोल्डकपको मुख्य प्रायोजकमा यति ब्रुअरी रहने


बिहिवार, माघ २५, २०८० |

कनकाई अनलाईन
राजधानी बाहिरकै प्रतिष्ठित मध्येमा मानिने झापा गोल्डकपको छैटौँ संस्करणलाई यती ब्रुअरीले मुख्य प्रायोजन गर्ने भएको छ ।
गोल्डकप र यती ब्रुअरीबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौतामा हस्ताक्षर भएको छ ।


यती ब्रुअरीको कुनै एक उत्पादनले प्रतियोगितामा टाइटलका रुपमा स्थान पाउनेछ । काठमाडौँमा भएको सम्झौतापत्रमा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत र यती ब्रुअरीका तर्फबाट रिजनल मेनेजर शंकर लुइँटेलले हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा यती ब्रुअरीका ब्रान्ड एम्बेसडर प्रतिपल अधिकारी एसिसटेन्ट ब्रान्ड मेनेजर गोरखा श्रेष्ठ, झापा गोल्डकपका महासचिव गजेन्द्रबहादुर पौडेलको उपस्थिति रहेको थियो ।

प्रतियोगिता यही फागुन १९ गतेदेखि २८ गतेसम्म बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालामा हुनेछ ।

रंगशालामा करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट निर्माणको तयारी सुरु गरिएको छ । अहिले मैदानको स्तरोन्नति धमाधम भइरहेको छ ।
छैटौँ संस्करणको झापा गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद सात लाख रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लब, विभागीयसहित नेपालका ए डिभिजन क्लब र विदेशी क्लबको सहभागिता रहनेछ ।

सम्बन्धित खबर