कनकाई अनलाईन
भारतीय चर्चित टेलिभिजन शो इण्डियन आइडलमा टप १० मा पुग्न सफल झापा हल्दिवारीकी चेली मेनुका पौडेललाई गृह नगर झापामा भव्य स्वागत गरिएको छ ।
नेपालको पुर्वीनाका मेचीपुलबाट नेपाल भित्रिएकी गायिका मेनुकालाई नेपाल भित्रिनसाथ भव्य स्वागत गरिएको थियो । यसैविच उनको गृह पालिका हल्दिवारी गाउँपालिकाले मेनुकालाई आफ्नो गाउँको पहिचान विश्वभर फैलाएको भन्दै गाउँपालिकाले नगद ६० हजार सहित सम्मान गरेको छ ।
गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेन र उपाध्यक्ष लक्ष्मीदेवि मैनालीले मेनुकालाई सम्मान गर्नुभएको हो । सम्मान गर्दै गाउँपालिकाकी उपाध्यक्ष मैनालीले मेनुकाले आफ्नो गायकीबाट विश्वभर देश र आफ्नो स्थानको गरिमा बढाएको बताउँनुभयो । कार्यक्रममा बोल्दै गायिका मेनुका पौडेलले यो जित आफ्नो मात्रै नभएर सबै देशवाशी र संगितलाई माया गर्ने सबैको भएको बताउँनुभयो । आफुले गरेको मिहिनेत, र नेपालीहरुको आर्शिवाद, समर्थकका कारण यो सफलता मिलेको गायिका पौडेलको भनाइ रहेको थियो ।
झापा आउनुभएकी पौडेललाई काँकडभिट्टा बजारमा र्याली र झाँकी र बाजागाजासहित नगरपरिक्रमा गराइएको थियो । झापाको बिर्तामोडमा मेकुकाले संगित सिक्दै आउँनुभएको सप्तक संगित विद्यालयको आयाृेजनामा भएको स्वागत सम्मान कार्यक्रममा यहाँका अन्य संघ संस्थाले समेत सम्मान गरेको सप्तक संगित विद्यालयका प्रमुख सरोज वस्तले जनाउँनुभयो । साहित्य चौतारी, बिर्तामोड जेसिज लगायतका संघ संस्थाले मेनुकालाई झापामा भव्य स्वागत गरेका हुन ।
इण्डियन आइडलको सिजन १४ को अन्तिम १० बाट मेनुका आइतबार बाहिरिनुभएको हो । यसक्रममा गायिका पौडेलले चर्चित फिल्म ‘सलार’बाट भारतीय फिल्ममा गित समेत गाउँनुभएको थियो ।