कनकाई अनलाईन
झापाको भद्रपुरस्थित मेची पुलबाट नेपाली कांग्रेसले शनिवारदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु गरेको छ । कांग्रेसका महामन्त्रीहरू गगन थापा, विश्वप्रकाश शर्मा, कांग्रेस नेता कृष्णप्रसाद सिटौला लगायतले मेची पुलको प्रवेशद्वारमा पाँच वटा बिरुवा रोपेर ‘समुदायमा कांग्रेस’ भन्ने अभियानको सुरुवात गर्नुभएको हो ।
स्थानीय तहबाट हुने गरेका सेवा प्रवाह र विकास निर्माणको अवस्थामा नागरिकका गुनासा र सुझाव वडा स्तरबाटै कार्यान्वयन गराउन पहल गर्ने गरी हुलाकी राजमार्गबाट सुरु भएको अभियान माघ २६ गते कञ्चनपुरमा पुगेर समापन हुनेछ। ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत मेची–महाकाली संवाद यात्राको नेतृत्व गर्दै निस्किनुभएका महामन्त्री गगन थापाले अभियानको सुरु गर्दै अभियानले जनतालाई निराशालाई चिर्दै समाजलाई सकारात्मक दिशामा अगाडि वढाउनका लागि अभियान थालिएको बताउँनुभएको छ ।
झापा जिल्लामा देखिएका हात्ती पीडित, कृषक र खोला पीडितका समस्या बारेमा अभियानका क्रममा व्यापक संवाद गरिने समेत थापाले बताउँनुभएको छ । अभियानका क्रममा देखिएका जनताका समस्यालाई स्थानीय तहदेखि प्रदेश र संघसम्म पु¥याएर समाधानको बाटो खोजिने समेत थापाले बताउनुभयो । थापाले यो अभियान आफ्नो व्याक्तिगत नभएर समग्र पार्टीको अभियान भएको बताउँनुभयो । अभियानको रुपमा आगामी माघ १६ गते शहिद दिवशका दिन भने देशभरका ६ हजार ७४३ वडामा कार्यक्रम गरिने समेत महामन्त्री थापाले बताउँनुभयो ।
त्यस्तै महामन्त्री विश्वप्रकाश शर्माले आफुहरुले गरेका कमजोरीका कारण जनतामा असन्तुष्टि र वितृष्णा रहेको भन्दै अभियानमा यसको खोजी गरिने समेत बताउँनुभयो । जनताको हामीसग भएको गुनासोलाई प्रत्यक्ष संवादका माध्यमबाट चिर्न अभियानले मद्धत गर्ने समेत शर्माले बताउँनुभयो । अब देशमा शान्ति स्थापना, संविधान बनाउनु, लोकतन्त्र स्थापित लगायातका सबै कुराहरु प्रक्रियामा आइसकेको भन्दै जनताको निराशालाई चिर्न मात्रै बाकी रहेको बताउँनुभयो । अभियानले यसलाई मद्धत पुग्ने समेत शर्माले बताउँनुभयो । अभियानको सुरुवात गर्दै कांग्रेस नेता तथा पुर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले अभियान आफ्ना र पार्टीका लागि नभएर समग्र जनताका लागि भएको जिकिर गर्नुभयो । उहाँले यस अभियानबाट जनताको वास्तविक अवस्था देशमा कस्तो छ भनेर नजिकबाट बुझ्न मद्धत पुग्ने छ भन्नुभयो ।
कांग्रेस ५ नम्बर वडा सभापति हरि बस्नेतको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा वडा, जिल्ला, केन्द्रीय सदस्यसहित विभिन्न भ्रातृ संघ तथा शुभेच्छुक संस्थामा आबद्ध प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
अभियानमा सहभागी नेताहरूले भद्रपुरको झापा चोकमा चिया संवाद समेत गर्नुभएको छ भने भद्रपुरकै कञ्चनश्रीमा हात्ती प्रभावित क्षेत्रको अवलोकन र कृषक समूहसँग संवाद समेत गर्नुभएको छ । यसैगरि झापा गाउँपालिकाको झापा बजारमा खुला संवादको समेत कार्यक्रम गर्नुभएको छ ।
संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा आगामी माघ २६ गते समापन हुने कार्यक्रम रहेको छ ।