कनकाई अनलाईन
नेकपा एमाले भद्रपुर नगर कमिटीले गत संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णयविपरीत कार्य गरेको भन्दै तीन जनाको पार्टी सदस्यता खारेज गर्ने निर्णय गरेको छ ।
एमाले भद्रपुर नगर कमिटीको पुष २९ गते बसेको सचिवालयको विस्तारित बैठकले पार्टी पूर्व प्रदेश कमिटीका सदस्य जीवनकुमार श्रेष्ठ, पूर्व नगर इन्चार्ज तथा जिल्ला कमिटी सदस्य हरि तिम्सिना तथा पूर्व जिल्ला कमिटीका विभागीय सदस्य लोकनाथ भट्टराईलाई विधानको धारा ८० को १,२,३, ४ र ५ अनुसारको कसुर गरेको ठहर गरी विधानको धारा ८१ ९१० बमोजिम निजहरूको पार्टी सदस्यता खारेजीको निर्णय गरेको हो । सो निर्णय अनुमोदनका लागि पार्टी जिल्ला कमिटीमा अनुरोध गरी पठाउने निर्णय पनि गरेको छ ।
नगर अध्यक्ष ब्रह्मलाल ढुङ्गानाको अध्यक्षता र पार्टी केन्द्रीय सदस्य तथा भद्रपुर नगर इन्चार्ज सुनिता बरालको प्रमुख आतिथ्यमा कोशी प्रदेश कमिटी सचिवालय सदस्य बसन्त बानियाँ, कोशी प्रदेश कमिटी सदस्य तथा क्षेत्र नं।३ ९१० का इन्चार्ज सन्तलाल मेचे एवं पार्टी जिल्ला कमिटी सदस्य तथा भद्रपुर सह इन्चार्ज कालीचरण बस्नेतसहितको आतिथ्यमा बसेको बैठकले यस्तो निर्णय गरेको थियो ।
बैठकमा नगर अध्यक्ष ढुङ्गानाले कार्ययोजनाको एजेन्डा प्रस्तुत गर्न लाग्दा बैठकमा सहभागी वडा इन्चार्ज तथा वडा कमिटी अध्यक्ष एवम् सचिवालय सदस्यहरूले हलबाट पार्टीमा घात अन्तर्घात गर्नेहरूको विषयमा छलफल र निर्णय नगरी अध्यक्षबाट प्रस्तुत भएका विषयहरूमा छलफल गर्न नसकिने अडान राखेपछि स्थानीय तह, संघ तथा प्रदेश निर्वाचनमा स्पष्ट देखिने गरी भएका अन्तर्घात गर्ने गराउने माथिको कारबाही सम्बन्धमा छलफल चलाई निर्णय नभएसम्म प्रस्तुत विषयमा छलफल गर्न नसकिने अडानसहितको कार्यकर्ताको दबाबमा सो निर्णय भएको थियो ।
कार्यकर्ताले माथिल्लो कमिटीलाई नगरस्तरीय समीक्षा समितिले दिएको प्रतिवेदनलाई समेत माथिल्लो कमिटीले बेवास्ता गरेको भन्दै हलबाटै सो निर्णय गर्नु परेको एक सहभागीले बताए । सो बैठकले सो विषयमा व्यापक छलफल भई सर्वसम्मत ढङ्गले थप निर्णय पनि गरेको छ ।