Kanakai Online

छैटौ झापा गोल्डकपको पुरस्कार राशी १३ लाख


मङ्गलवार, माघ ९, २०८० |

लीलाराज खड्का
राजधानी बाहिरको सर्वाधिक चर्चित झापा गोल्डकपको छैटौ संकरण आगामी फागुन १९ गतेदेखि २८ गतेसम्म बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा हुने भएको छ ।


प्रतियोगितामा आयोजक झापा ११ सहित नेपालका ७ र विदेशका ३ गरि १० टिमको सहभागिता रहने मंगलवार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । प्रतियोगितामा पुरस्कारको राशीलाई समेत यस बर्ष बृद्धि गरि प्रथम पुरस्कार १३ लाख दोस्रो पुरस्कारलाई नगद ७ लाख रुर्पैँया बनाईएको थियो ।

अघिल्लो बर्षभन्दा यसबर्ष पुरस्कारको राशी ५० हजारले बृद्धि गरिएको हो । यसैगरि प्रतियोगितामा मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाईकल, प्रतियोगितामा उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र उच्च गोलकर्ताले जनही नगद २५ हजार र प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैँया पाउने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले बताउँनुभयो । प्रतियोगिताको मैदान व्यावस्थापन लगायातका कार्यहरु सुचारु गरिसकिएको र प्रतियोगिता सम्पन्न गर्नका लागि नगद १ करोड ४० लाख रुपैँया खर्च हुने अनुमान गरिएको आयोजक समितिका कोषाध्यक्ष केदार गिरीले बताउँनुभयो । पत्रकार सम्मेलनमा झापा गोल्डकपका संरक्षक जलकुमार गुरुङ्ग, झापा गोल्डकपका बरिष्ठ उपाध्यक्ष बलराम कार्की, झापा फुटबल संघका अध्यक्ष भगिरथ आलेमामा लगायातले पत्रकारले सोधेको प्रश्नको उत्तर दिनुभएको थियो । प्रतियोगिताको अघिल्लो संकरणबाट हाल झापा गोल्डकपको नाममा बचत १ करोड १० लाख रुपैँया रहेको समेत जानकारी गराइएको थियो ।
गोल्डकप सम्पन्न गर्नका लागि गोल्डकपका महासचिव गजेन्द्रबहादुर पौडेलको संयोजकत्वमा केशव भट्टराई, विशाल नेम्बाङ्ग, हिमाल खरेल, भुमिका सुब्बा र चन्द्र तिम्सिना रहेको एक सचिवालय समेत निर्माण गरिएको जानकारी गराईएको छ ।

सम्बन्धित खबर