कनकाई अनलाईन
झापाका विभिन्न पालिकामा केही महिना अघिदेखि हात्तीले उपद्रो मच्चाउँदै आएका छन् । यसै क्रममा कचनकवलमा फेरि जङ्गली हात्तीको समूहले दुई वटा घर भत्काएको छ ।
लगातार जनधनको क्षति गर्दैआएको जङ्गली हात्तीले आइतवार राति कचनकवल ३ दल्कीमा दुईवटा घर भत्काएको गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताउनुभयो । भट्टराईका अनुसार एक महिनाको अवधिमा कचनकवलमा मात्र २२ वटा घर हात्तीले भत्काएका छन् ।
स्थानीय दुर्गाभिट्टा सामुदायिक वनबाट आएको जङ्गली हात्तीको समूहले धुला राजवंशीको टिनको छानो भएको भुइँतले घर र रणबहादुर लिम्बूको टिनको छानो भएको घर भत्काएको हो । लिम्बुले वर्षभरि खानका लागि भकारीमा राखेको करिब ३० मन धान पनि हात्तीले खाएको बताइएको छ ।
यसैगरी हात्तीको समूहले डम्बर खड्काको खेतको खमारमा राखिएको धान पनि खाएको छ । स्थानीयको खेतबारीमा लगाएको बालीनाली नष्ट गरेको र स्थानीहरु रातभर जाग्राम बस्ने अवस्था आएको उपाध्यक्ष भट्टराईले बताउनुभयो ।