Kanakai Online

किसान तोरी खेतीमा आकर्षित


मङ्गलवार, पौष १७, २०८० |

कनकाई अनलाईन
झापा शिवसताक्षीका किसानहरुमा तोरी खेतीमा आकर्षण बढ्दै गएको छ । सरकारले तोरी खेतीमा अनुदान दिन थालेसगै यस क्षेत्रका कृषकहरुको दिनानुदिन तोरी खेतीमा आकर्षण वढदै गएको हो ।


तोरी खेतीलाई प्रवद्र्धन एवं प्रोत्साहन गर्न स्थानीय तहले समेत अनुदानको कार्यक्रमलाई निरन्तता दिइरहेको शिवसताक्षी नगरपालिकाका प्रमुख रोषन थोप्राले बताउँनुभयो । यता संघीय सरकारबाट समेत सशर्त अनुदानका रुपमा शिवसताक्षी नगरपालिकालाई मात्रै १० लाख रुपैँया अनुदान आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
शिवसताक्षी नगरपालिकाले गएको कार्तिक महिना मै तोरी खेतीमा अनुदान दिने सूचना प्रकाशित गरेको थियो । नगरपालिकाले १० विगाह क्षेत्रफलमा तोरी लगाउने कृषकलाई ७५ प्रतिशत अनुदान दिने जनाएको छ ।


हाल नगरपालिकामा तोरी खेतीका लागि १६ समूहबाट निवेदन परेका छन् । नगरपालिकाले छनौटमा परेका १० समूहलाई अनुदान दिने तयारी थालेको शिवसताक्षी नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईले जानकारी दिनुभयो ।
शिवसताक्षीको ४,५ वडामा तोरी खेतीका लागि पकेट क्षेत्र मानिएको छ । कनकाई सिचाईको कारणले पनि तोरी खेतीका राम्रो वातावरण बनेको कृषि साखाका प्रमुख भट्टराईले बताउँनुभयो ।
हाल शिवसताक्षी नगरपालिको वडा न.२, ३,४,५,८,९ र १० मा सामुहिक तोरी खेती गरिएको छ । नगर क्षेत्र भित्र १ सय विगाहमा सामुहिक तोरी खेती गरिएको शिवसताक्षीका कृषि स्नातक प्राविधिक लेनिन शमसेर कुँवरले जानकारी दिनुभयो ।
अनुदान रकम १० लाख मध्ये नगरपालिकाले तोरी खेतीका लागि प्रति समूह तोरी प्रवद्र्धन कार्यक्रममा १ लाख अनुदानका रुपमा दिइएको छ ।
शिवसताक्षी नगरपालिकामा १० हजार हेक्टर खेती योग्य जमिन रहेको बताइएको छ । जसमा ७ हजार हेक्टरमा किसानहरुले खेती लगाउने गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
झापामा तोरी खेतीको क्षेत्रफल बढोत्तरी हुँदै गएको छ । गत वर्ष पाँच हजार पाँच सय ८० हेक्टरमा तोरी खेती गरिएकोमा यस वर्ष पाँच हजार आठ सय ४० हेक्टरमा तोरीखेती गरिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।
गत वर्ष झापामा छ हजार सात सय ३० मेट्रिक टन तोरी उत्पादन भएको थियो । यस वर्ष उत्पादन वृद्धि हुने आकलन गरिएको छ । यस वर्ष झापाको हल्दिवारीमा सबैभन्दा बढी तोरी खेती गरिएको छ । त्यस्तै भद्रपुर, कचनकवल, शिवसताक्षी, दमक, मेचीनगर, बुद्धशान्तिलगायतका पालिकामा समेत उल्लेख्य मात्रामा तोरी खेती गरिएको छ ।
गत वर्षको सुरुआतमै पाँच हजार चार सयमा प्रतिमन बिक्री भएको तोरी यस वर्ष करिब छ हजारको हाराहारीमा पुग्ने अनुमान छ । उत्पादित तोरीको मूल्य उच्च हुनुका साथै अनुदानसमेत पाइने भएपछि किसान तोरीखेतीप्रति थप आकर्षित भएका हुन ।

सम्बन्धित खबर