Kanakai Online

.अर्जुनधराले जित्यो फुटबल उपाधि


आइतवार, मंसिर २४, २०८० |

कनकाई अनलाईन
झापाको भद्रपुरको मेची रंगशालामा सम्पन्न प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । आइतवार सम्पन्न फाइनल खेलमा अर्जुनधाराले बुद्धशान्ति गाउँपालिकालाई ३—० गोल अन्तरले पराजित गर्दै नगद ३ लाख रकम सहितको उपाधि रक्षा गरेको हो । उपबिजयी बनेको बुद्धशान्तिले भने नगद २ लाखमा चित्त बुझायो ।

आइतवार भएको फाइनल खेल अवधिभर अर्जुनधाराले बुद्धशान्तिलाई दबाबमा राख्दै चल्न दिएको थिएन ।

अर्जुनधाराका लागि खेलको १५ औँ मिनेटमा शान्तिराम बस्नेत, ३० औँ मिनेटमा निखिल तामाङ र ५८ औँ मिनेटमा बादल तामाङले गोल गर्दै जित पक्का गर्नुभयो ।

फाइनल खेलको प्लेयर अफ द म्याच अर्जुनधाराका बादल तामाङ हुनुभयो उहाँले नगद २ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर अर्जुनधाराका अनुप तामाङ, उत्कृष्ट प्रशिक्षक अर्जुनधाराका पुष्प मादेन, उच्च गोलकर्ता बुद्धशान्तिका बबिन बोहोरा र उदीयमान खेलाडी भद्रपुर ब्लेजर्सका मौसम लिम्बू हुनभयो उहाँहरुले जनही ५ हजार रुपैँया प्राप्त गर्नुभयो ।

प्रतियोगिताभरिका सर्वोत्कृष्ट खेलाडी अर्जुनधाराका निखिल तामाङ हुनुभयो उहाँले नगद १० हजार प्राप्त गर्नुभयो ।
विजेता तथा उपविजेता टीमका खेलाडीलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, गोल्डकपका अध्यक्ष दिपेश ढकाल, सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकाल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतलगायतले पुरस्कार वितरण गर्नुभयो ।
प्रतियोगितामा आयोजक सहित झापाका पालिकाहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर