Kanakai Online

झापामा प्रहरीलाई घुस दिन खोज्ने २ जना रकमसहित पक्राउ


शनिवार, मंसिर २३, २०८० |

कनकाई अनलाईन
झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ बाँसबारीबाट कागजपत्र नभएको काठ प्रहरीले नियन्त्रण गर्न खोज्दा खुस दिन खोज्ने दुई जनालाई पक्राउ गरिएको छ ।

प्रहरीलाई ९५ हजार रुपैयाँ घुस दिन खोज्दा उक्त नगद, ट्याक्टरसहित शनिवार बिहान ५ः५० बजे उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेमा अर्जुनधारा–३ का ४० बर्षिय कृष्ण श्रेष्ठ र सोही स्थानका ३८ बर्षिय रोहित घतानी रहेका छन् ।

बाँसवारीस्थित भित्रि सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे १ त ८०५ नम्बरको ट्याकटरलाई गोप्य सुचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी नायव निरिक्षक कुमार खड्काको टोलीले नियन्त्रणमा लिएको थियो ।रोकी राखेको ट्याक्टर चेकजाँच गर्दा माटोले छोपेर ल्याउदै गरेको चिरान गरेको ५ फिटको २ थान, ६ फिटको ११ थान, ७ फिटको १९ थान, ८ फिटको २० थान गरी जम्मा ५२ थान अन्दाजी ५४.५ क्युफिट सखुवा जातको काठ फेला परेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीस्थित बिर्तामोड झापामा ल्याएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । काठ ल्याउने श्रेष्ठ र घतानीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीलाई उनीहरुले ९५ हजार रुपैयाँ घुस दिन खोजेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताउनुभयो । घुस दिन खोजेको नगद , २ लाख ७० हजार मूल्य बराबरको काठ र ट्रयाक्टरसहित दुवैलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक गिरीले जानकारी दिनुभयो । गिरीका अनुसार काठ , ट्रयाक्टर र दुवैलाई डिभिजन वन कार्यालय बुझाउने तयारी भइरहेको छ ।

सम्बन्धित खबर