कनकाई अनलाईन
पत्रकार टिकाराम यात्रीको विशेष टक शो कार्यक्रम झापाको कनकाई नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
झापाली संञ्चारकर्मी र कनकाई नगरपालिकाका संघ संस्थाका प्रतिनिधिको सहभागितामा आयोजित उक्त वर्तमान समयमा संचार एवम् सामाजिक भुमिकामा जीवनशैली अध्यात्म र हाम्रो चिन्तन विषयक कार्यक्रमको आयोजना रोटरी क्लव अफ सुरुङ्गाले गरेको हो ।
कार्यक्रममा बोल्दै पत्रकार यात्रीले अबको १५ बर्षभित्र विश्वको सबैभन्दा धनी मुलुक चिन र दोस्रो सम्पन्न देश भारत बन्ने भन्दै त्यसवेला सबै नेपालीहरु रोजगारीका लागि ती मुलुकमा जाने वा त्यस देशमा श्रमिक नपाउने समस्याले गर्दा नेपालमा थप उद्योगधन्दा खुल्ने र नेपालसमेत समृन्नत देशको सुचिमा पर्ने भन्दै आशावादी हुन सबैलाई आग्रह गर्नुभयो । साथै पत्रकार यात्रीले कनकाई नगरपालिकाले धार्मिक पर्यटनलाई प्राथमिकता दिएर अगाडि वढ्न सके चाडै समृद्धि ल्याउन सक्ने बताउँनुभयो ।
क्लबका अध्यक्ष शिवकुमार कडेंलको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक कार्यकर्ता भक्तिप्रसाद सिटौलाले सहजीकरण गर्नुभयो ।
यात्रीले बन्द मुक्त सुरुङ्गाको तारिफ गर्दै यसको निरन्तरताको शुभकामना दिनुभएको थियो । एक प्रसङ्गमा यात्रीले विज्ञान र अध्यात्म वीचमा तात्त्विक फरक नरहेको र सूचना, ज्ञान र प्रज्ञा जीवनदृष्टिका आधार भएको बताउनुभयो । उनले सञ्चार क्षेत्रको भूमिकासम्बन्धमा प्रकाश पार्दै आवाजविहीनहरूको आवाज बन्नुपर्ने र पत्रकारले चर्चामा भएका कुराको मात्र चर्चा नगरेर चर्चामा नभएका विषयवस्तु पनि चर्चामा ल्याउनुपर्ने बताए ।
धर्मसम्बन्धमा संविधानमा उल्लेख नगर्न उनले सुझाएका थिए । धर्म र जीवन भनेको फूल र सुगन्ध जस्तै भएको उनको भनाइ थियोे । वैदेशिक रोजगारमा युवा जानु भनेको प्रतिष्ठा र जीवनशैलीको विषय मात्र नभएर राष्ट्रिय शरमको विषय भएको उनले बताए । भ्रष्टाचार विषयमा उनले भने, “भ्रष्टाचारमुक्त संस्कृतिको सुरुवात हरेक व्यक्तिबाट हुन्छ ।”
कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले आफूहरू कनकाई नगरलाई उत्कृष्ट नगरको रूपमा विकास गर्न एकताबद्ध ढङ्गले लागी परेको बताए । बन्दमुक्त शान्ति क्षेत्रको रूपमा रहेको कनकाई नगरको गरिमालाई अक्षुण्ण राखिने मेयर पोखरेलको भनाइ थियोे ।
कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का सहायक गभर्नर सन्दीप चापागाईंले समाज रूपान्तरणमा सबैलाई क्रियाशील हुन आग्रह गरेका थिए । सो अवसरमा पत्रकार महासंघ कोशीका सदस्य लीलाराज झापाली सहित पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, टीकाप्रसाद कट्टेल, रामप्रसाद निरौला, रेजिना रोदन, सङ्गीता उप्रेती, तीर्थराज खरेल, शम्भु पोखरेल, रोशनबाबु प्रसाईं, राजेन्द्र चौंलागाई लगायतले यात्रीलाई विभिन्न जिज्ञासा राखेका थिए ।
कार्यक्रममा नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल लगायतको आतिथ्य रहेको थियोे । कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ सुरुङ्गाका सचिव विनिता मैनालीले गरेकी थिइन् ।