Kanakai Online

मसाज सेन्टरको आवरणमा ७ हजारसम्म असुलेर ‘यौनधन्दा’


सोमवार, मंसिर १८, २०८० |

कनकाई अनलाईन
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै शम्भुमार्ग र रातोपुलस्थित दुईवटा मसाज सेन्टरका सञ्चालक हुन् सङ्खुवासभाका दिनेश पौडेल । काठमाडौँ महानगरपालिका–९ स्थित शम्भुमार्गमा सञ्चालित नुवाकोट स्पा एन्ड ट्रेनिङ सेन्टर र रातोपुलस्थित नुवाकोट स्पा एन्ड ब्युटी पार्लरको आवरणमा पौडेलले ‘यौनधन्दा’ चलाएको आरोप छ ।
मङ्सिर ८ मा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले रातोपुलस्थित नुवाकोट स्पा एन्ड ब्युटी पार्लरमा छापा मारेको थियो । त्यहाँबाट ब्युरोले एक जना नाबालिग र दुई जना युवतीलाई उद्धार गरेको छ । उनीहरूलाई पौडेलले जबर्जस्ती यौन सम्पर्क गर्न बाध्य बनाएको अनुसन्धानबाट थाहा भएको मानव बेचबिखन ब्युरोका प्रवक्ता ९एसपी० कृष्णप्रसाद पङ्गेनीले रातोपाटीलाई बताए ।
ग्रामीण भेगका आर्थिक अवस्था कमजोर भएका र पढलेख नभएका किशोरीहरूलाई दिनेशले ‘ब्युटी पार्लर र स्पासम्बन्धी तालिम गराउँछु’ भनेर काठमाडौँमा ल्याउने गरेका थिए । काठमाडौँमा ल्याएपछि उनले शम्भुमार्गस्थित ‘नुवाकोट स्पा एन्ड ट्रेनिङ सेन्टर’ मा उनले तालिम गराउँथे । त्यसपछि रातोपुलमा लगेर मसाज गराउने र बिस्तारै ग्राहकहरूसँग जबरजस्ती यौन सम्पर्क गर्न बाध्य बनाउने गरेको किशोरीहरूले प्रहरीलाई बताएका छन् ।

उद्धार गरिएका किशोरी र नाबालिगको उजुरीका आधारमा पक्राउ गरेर पौडेलविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको एसपी पङ्गेनीले जानकारी दिए । पौडेलले चार वर्षदेखि ‘स्पा एन्ड ब्युटी पार्लर’ को आवरणमा यौनधन्दा चलाएको आरोप छ ।

ग्राहकसँग किशोरीहरूलाई यौन सम्पर्क गर्न बाध्य बनाएर दिनेशले ४ हजारदेखि ७ हजारसम्म असुल्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । एसपी पङ्गेनी भन्छन्– ‘प्रतिव्यक्ति ४ हजारदेखि ७ हजार असुलेर आरोपितले किशोरीहरूलाई थोरै कमिसन दिने गरेको भेटिएको छ ।’

४३ वर्षीय दिनेश सङ्खुवासभाको चिचिला गाउँपालिका–१ का स्थायी बासिन्दा हुन् ।

सम्बन्धित खबर