Kanakai Online

झापामा जिल्ला लिग सुरु


शुक्रवार, मंसिर ८, २०८० |

कनकाई अनलाईन
झापाको भद्रपुर विहिबारबाट अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । झापाका १५ पालिकाको सहभागिता रहने उक्त प्रतियोगिताको उदघाटन खेलमा हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिकाले खेल बराबरी गर्दै अंक बाँडेका छन् ।
भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलमा सुरुवाती अग्रता हल्दिबारीले लिए पनि खेल बराबरी हुन पुग्यो । २–२ गोलको बराबरी भएपछि हल्दिबारी र बिर्तामोडको एकएक अंक भएको छ ।
खेलको २८ औँ मिनेटमा हल्दिबारीका हिरण राजवंशीले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । तर, ३१ औँ मिनेटमा बिर्तामोडका सुजनविक्रम लिम्बूले गोल फर्काउदै खेल बराबरीमा ल्याउनुभयो ।
त्यस्तै, खेलको ६२ औँ मिनेटमा बिर्तामोडका रोमन भूजेलले गोल गर्दै टिमलाई अग्रता दिलाएपनि खेलको ७६ औँ मिनेटमा हल्दिबारीका कप्तान विकास जवेगूले गोल फर्काएपछि खेल बराबरीमा सकिएको थियो ।

फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगितको उद्घाटन पूर्वउपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले गर्नुभएको हो । १८ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणका खेलहरु क्वार्टर फाइनलबाट सुरु हुनेछन् । क्वार्टर फाइनलका खेल मंसिर १९ र २० गते हुने छन् । सेमिफाइनलका खेल मंसिर २२ गते हुने छ ।

प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छन् ।

त्यस्तै, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।

सम्बन्धित खबर