कनकाई अनलाईन
झापाको गौरीगन्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिका जोड्ने हुलाकी राजमार्गमा पर्ने रतुवा नदीको पुल निर्माण सुरु भएको डेढ दशक बित्दासमेत सञ्चालनमा आउन सकेको छैन । सुरुको डिजाइन अनुसारको पुल तयार भए पनि पुल निर्माणकै क्रममा खोलाको क्षेत्र विस्तार भएपछि अहिले पुलको लम्बाइ छोटो भएको हो ।
पुल निर्माण सम्पन्न भए पनि छोटो
भएपछि बाँसको पुल बनाएर स्थानीय वारिपारि गर्न बाध्य छन् । बाँसको भाटाको पुलबाट खोला तर्दा पैदल एक जनाको १०, साइकल र मोटरसाइकलको ३० रुपियाँ दस्तुर तिर्नु पर्छ । सिटी रिक्सा तथा टेम्पोले दुई सय रुपियाँसम्म तिर्नु पर्छ । बाँसको पुल प्रयोग गर्नेबाट रकम उठाउन गाउँपालिकाले नै दुई लाख रुपियाँमा ठेक्का लगाएको छ । बाँसको पुल भएर दैनिक पाँच सय जनाभन्दा बढीको ओहोरदोहोर हुने गरेको स्थानीय बताउँछन् ।
तत्कालीन मोरङ–सुनसरी पुल आयोजनाले २०६४ सालमा पुल निर्माणको ठेक्का लगाएको थियो । त्यसबेला कालिकारओसिए जेभीले १० करोड ३२ लाख ९१ हजार रुपियाँमा ठेक्का सकारेर निर्माणको काम सुरु गरेको थियो ।
धेरै दबाब दिएपछि पुल बने पनि सञ्चालनमा आउने अवस्थाको नबनेपछि समस्या बेहोर्नुपरेको झापा उद्योग वाणिज्य सङ्घ, गौरीगन्जका अध्यक्ष गैदार महतोले बताउनुभयो । “पुल छोटो बन्यो तर खोला फराकिलो भयो । चार सय मिटर लम्बाइको खोलामा दुई सय पाँच मिटरको पुल बनेको छ । खोलाको बिचमा पुल देख्दा बाहिरबाट आउनेहरू त छक्क पर्ने गरेका छन्,” उहाँ ले भन्नुभयो ।
डिजाइन गर्दाको समयमा ठिकै थियो होला, पछि खोलाले धार परिवर्तन गर्दा खोलाको फैलावट बढ्यो तर पुल बढाउने विषयमा चासो नहुँदा यो अवस्था आएको हुन सक्ने उहाँले बताउनुभयो । यो पुलले हुलाकी राजमार्ग हुँदै गौरीगन्ज गाउँपालिका–६, चिल्लारा र मोरङको दक्षिण–पूर्वी रतुवामाई नगरपालिका–३, आमबारीलाई जोड्दछ । गौरीगन्ज गाउँपालिकाका–२ का वडाध्यक्ष श्रवण गिरीले ठुलो सपना र प्रतीक्षाका रूपमा रहेको हुलाकी राजमार्ग निर्माण भए पनि पुल नबन्दा खुसियाली मनाउने अवस्था नभएको गुनासो गर्नुभयो ।
अहिले पुरानो पुलको दायाँबायाँ पुल लम्ब्याउने काम भइरहेकाले अब केही समय पुल सुचारु हुनेमा आशावादी रहे पनि भरपर्ने अवस्था नरहेको गिरीले बताउनुभयो । “बजेट अभाव हुने, निर्माण व्यवसायीले समयमा काम नसक्ने र यसमा राज्यको चासो नजाने हो कि रु भन्ने चिन्ता सधैँ रहिरहेको छ,” उहाँले भन्नुभयो ।
हुलाकी सडक आयोजना इटहरीका इन्जिनियर प्रमोद खतिवडाका अनुसार पुरानो डिजाइन अनुसार पुल निर्माण सम्पन्न भएको हो । २०५ मिटर लम्बाइको पुल २०७५ सालमा नै पूरा भएर हस्तान्तरण भएको उहाँले जानकारी दिनुभयो । “अहिले २७५ मिटर पुल आवश्यक देखिएको छ तर २०५ मिटर मात्र बनेकाले यसलाई सञ्चालन हुने अवस्थाको बनाउने गरी थप २२ करोड रुपियाँमा पुल निर्माणको ठेक्का लागेको छ,” उहाँले भन्नुभयो ।
थप पुल २०८२ असार १७ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने निर्माण व्यवसायीसँग सम्झौता भएको छ । इन्जिनियर खतिवडाका अनुसार नयाँ काम तीव्र रूपमा भइरहेको छ र सम्झौताको पाँच महिनामा ३० प्रतिशत काम पूरा भएको छ । अर्को दसैँमा सम्भवतः पुल पूर्ण रूपमा सञ्चालनमा आउने उहाँले बताउनुभयो । झापाको भद्रपुरदेखि मोरङको विराटनगर जोड्ने हुलाकी राजमार्ग कालोपत्रेको काम अन्तिम चरणमा पुगिसकेको छ । यो पुल निर्माण भइसक्दा गौरीगन्ज तथा आसपासका बासिन्दालाई विराटनगर पुग्न सहज हुने छ ।