कनकाई अनलाईन
झापाको कनकाई—४ कोटीहोम क्षेत्रको कनकाई माई किनारामा विश्व शान्तिको कामना गर्दै वृहत विश्व–शान्ती विराट महायज्ञ महाअनुष्ठान आजबाट सुरु गरिएको छ ।
विश्वका विभिन्न मुलुकमा भइरहेका हिंसात्मक घटना अन्त्यका साथै हालै गएको भूकम्पमा परि नेपालको जाजरकोट लगायत जिल्लामा ज्यान गुमाएकाहरुको आत्मा शान्तिको कामना गर्दै ॐआदि फाउन्डेसनले तीनदिने महायज्ञ महाअनुष्ठान प्रारम्भ गरेको आयोजकले बताएको छ ।
कनकाई माईको किनारमा स्वस्तिक आकृतिको यज्ञकुण्ड सहितका संरचना तयार पारिएको छ । यो वर्ष देशका १८ स्थानमा महाअनुष्ठान गर्ने योजना बनाए अनुसार १७औं महाअनुष्ठानका रुपमा कनकाईलाई अवसर प्राप्त भएको ॐआदि फाउन्डेसनका अध्यक्ष डा.उपेन्द्र महतोले बताउँनुभयो ।
महायज्ञमा बाल ब्रह्मज्ञानी गुरु आदि चन्द्र योगीसहितका साधकहरुले विभिन्न साधनात्मक विधि प्रक्रियाहरुका साथ अखण्ड यज्ञाहुति गर्ने बताइएको छ । ॐआदि फाउण्डेशनको आयोजनामा कातिक २३, २४ र २५ गते तीन दिनसम्म संचालन हुने महाअनुष्ठानमा नेपालका विशिष्ट व्यक्तिहरूको समेत सहभागिता रहने बताइएको छ ।
महायज्ञबाट प्राप्त उर्जालाई कनकाई धाम परिसरमा नै उचित व्यवस्थापन गरी यो क्षेत्रलाई दिव्य धामका रुपमा विकास गरिने तथा अबको अन्तिम यज्ञ युएईमा लगाइने महायज्ञका कार्यक्रम संयोजक एवं आयोजक संस्था ॐआदि फाउन्डेसनका सल्लाहकार लक्ष्मीप्रसाद प्रसाईले बताउँनुभयो । महाअनुष्ठानमा १०८ कुण्डीय यान्त्रिक , तान्त्रिक एवं मान्त्रिक हवन समेत गरिने छ । अग्नि एवं जलकुण्डका रूपमा लिइएको सो हवनमा दुर्गा सप्तसती चण्डी पाठ र चार वेद अखण्ड पाठ पारायण (चार दिशामा) गरिने छ । तीनदिन सम्म दिव्य शिवलिंग एवं हिमालय प्रतिस्थापन, पृथ्वीयन्त्र, नवरत्न नागमणि, महाकाली स्थापना, ओमकार यन्त्र प्रतिस्थापन, चित्ताअग्नि साधना र १००८ शिवलिंग प्रतिष्ठा एवं विधिवत् अनुष्ठान गरिने छ ।
अरूले समुन्द्रमा महल बनाए पनि औलोकिक धाम पवित्र कनकाई नदिको कोटीहोम परिसरलाई दिव्यधामका रुपमा विकास गर्ने गुरु आदिचन्द्र योगीको परिकल्पना रहेको आयोजकको भनाई रहेको छ ।
दिव्य धामका परिकल्पनाकार आदिचन्द्र योगीले ऋषिभूमि र यज्ञभूमि नेपाललाई विश्व भरी चिनाउने अलौकिक गन्तव्य बनाउने संकल्पका साथ कनकाई नदिको किनारमा महाअनुष्ठान संचालन गरिएको बताइएको छ ।