Kanakai Online

अर्जुनधाराका भूमिहीनलाई धनीपुर्जा वितरण


बिहिवार, असोज ११, २०८० |

कनकाई अनलाईन
झापाको अर्जुनधारा नगरपालिकाले भूमिहीन तथा अव्यवस्थित बसोबास गर्ने नागरिकलाई धनीपुर्जा वितरण गर्न सुरु गरेको छ ।

पहिलो पटक बुधबारबाट जग्गाको धनीपुर्जा बाँड्न सुरु गरिएको हो । अर्जुनधारा नगरपालिकाले सभामुख देवराज घिमिरेको बाहुलीबाट बुधबार ६ जनालाई धनीपुर्जा वितरण गरेको नगर प्रमुख बलदेवसिंह गोम्देनले जानकारी दिनुभयो । नगरप्रमुखका अनुसार वडा नं ११ का ६ जनालाई पहिलो चरणमा पुर्जा वितरण गरिएको हो ।

यसअघि नगरपालिकाले वडा नं १, ५ र ११ का भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरिएको थियो । नगर प्रमुख गोम्देनका अनुसार २ हजार १७९ जनालाई निस्सा वितरण गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सभामुख देवराज घिमिरेले नागरिकको मौलिक हक सुनिश्चितताका लागि सबै तहका सरकार जिम्मेवार हुनुआवश्यक रहेको बताउँनुभयो , घिमिरेले नागरिकको मौलिक हक प्रत्याभूत गर्ने सन्दर्भमा आफ्नो तहबाट पनि जिम्मेवार ढंगबाट लागिपर्ने बताउँनुभयो । अर्जुनधारा २, ६, ७ र ८ मा निस्सा वितरणको अन्तिम तयारी गरिएको नगर प्रमुख गोम्देनले बताउँनुभयो ।

नगरमा अव्यवस्थित बसोबासीका रुपमा ७ हजार ६ सय, भूमिहीन दलित २ सय र भूमिहीन सुकुम्बासी १ हजार २ सय जनाले धनीपुर्जा प्राप्तिका लागि आवेदन दिएको नगरपालिकाले जनाएको छ । धनीपुर्जा वितरण कार्यक्रममा पूर्वमन्त्री केशवकुमार बुढाथोकी, पूर्व प्रदेश सदस्य बिर्ख प्रधान, भूमि आयोग झापाका अध्यक्ष तिलक पाण्डेलगायतको उपस्थिति रहेको थियो । नगर उपप्रमुख खड्गमाया पराजुलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगरपालिकाका कर्मचारी सौजन कटुवालले गर्नुभएको थियो ।

सम्बन्धित खबर