Kanakai Online

साहित्य चौतारीले स्रष्टालाई सम्मान गर्ने


मङ्गलवार, भदौ २६, २०८० |

कनकाई अनलाईन
साहित्य, संगीत र कलाको संगम साहित्य चौतारी झापाले मासिक सांगीतिक काव्य सभा र राष्ट्रिय बाल दिवसको अवसर पारेर झापाका विभिन्न पाँच जना अग्रज स्रष्टालाई दीर्घ साधना सम्मान प्रदान गर्ने भएको छ ।


साहित्य चौतारीको श्रीवृद्धिमा सहयोग गरी अभिभावकीय भूमिका निर्वाह गर्ने स्रष्टा सर्जक हरुलाई राष्ट्रिय बालदिवसको अवसरमा भदौ २९ गते आयोजना हुने सांगीतिक काव्यमा दीर्घ साधना सम्मान प्रदान गर्न लागिएको हो ।
साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले स्थापनाकालदेखि जोडिएर साहित्य चौतारीको उद्देश्यमा उल्लेखनीय योगदान दिएवापत स्रष्टाहरुलाई दीर्घ साधना सम्मान प्रदान गर्न लागिएको बताउनुभयो ।


प्राज्ञसभा सदस्य सुमित्रा वाङ्देल चेलीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा प्राज्ञ यज्ञराज प्रसाईसहित स्रष्टाहरू डिल्लीराज नेपाल, पून्यप्रसाद खरेल, जयनारायण ढुङ्गाना र हरिनारायण भट्टराईलाई सम्मान प्रदान गरिने छ ‌।
यसअघि अघिल्ला मासिक सांगीतिक काव्य सभाका अवसरमा साहित्य चौतारीले अग्रज स्रष्टाहरू विजय खरेल, लीला उदासी, भवानी क्षेत्री र हरिचरण बानियाँलाई दीर्घ साधना सम्मान प्रदान गरिसकेको छ ।
गतसाता मात्रै साहित्य चौतारीको टोलीले इलामस्थित निजी निवासमा पुगेर गायक तथा संगीतकार कुबेर राईलाई दीर्घ साधना सम्मान प्रदान गरेको थियो ‌ ।
अस्वस्थ भएर घरमा स्वास्थ्य लाभ गरिरहेका बेला आर्थिक सहयोगसहित राईलाई उक्त सम्मान प्रदान गरिएको साहित्य चौतारीका संस्थापक श्रेष्ठले बताउनु भयोे ।

बाल प्रतिभाबीच प्रतिस्पर्धा

साहित्य चौतारीले बालदिवसको अवसरमा बाल प्रतिभाबीच पनि प्रतिस्पर्धा गराउने भएको छ । अघिल्ला वर्षहरुमा जस्तै कविता, गीत र नृत्य विधामा चौतारीले बालप्रतिभा बीच प्रतिस्पर्धा गराउन लागेको हो ‌।
प्रतिस्पर्धामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई पुरस्कारसहित सम्मान गरिनेछ । उक्त कार्यक्रमको प्रमुख अतिथिका रूपमा बाल प्रतिभा दिया अधिकारी रहनेछिन् । अघिल्लो वर्ष रियाज रिजाल प्रमुख अतिथि थिए भने अघिल्लो वर्ष अनुजा कडरिया प्रमुख अतिथि ‌रहेकी थिइन् ।
हरेक वर्ष बालप्रतिभा बीच भएको प्रतिस्पर्धामा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने उत्कृष्ट प्रतिभालाई आगामी वर्षको कार्यक्रमका लागि साहित्य चौतारीले प्रमुख अतिथि बनाउँदै आएको छ ।

काव्य सभामा फत्तेमानलाई सम्झिइने

कालजयी अमर सर्जक फत्तेमान राजभण्डारीलाई साहित्य चौतारीले मासिक सांगीतिक काव्य सभाका अवसरमा सम्झिने भएको छ । १० औं स्मृति दिवसको अवसरमा उनका कालजयी सिर्जनाहरु सांगीतिक काव्य सभामा गुञ्जिने भएका हुन् । चौतारीले २०६२ सालमा फत्तेमानलाई प्रमुख अतिथि बनाएको थियो ।
साहित्य चौतारीले त्रिकोणात्मक यी तीनवटै कार्यक्रमहरूमा सहभागिता जनाउन चौतारीका स्रष्टा सर्जक, शुभेच्छुक र शुभचिन्तकलाई सार्वजनिक रुपमा अपिल पनि गरेको छ ।