Kanakai Online

बेपत्ता डाक्टर कोइरालाको शव भेटियो


बुधवार, भदौ २०, २०८० |

कनकाई अनलाईन
मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डाक्टर प्रज्वल कोइरालाको शव कोशीको अङ्गालोमा भेटिएको छ ।

झापाको दमक १ मा घर भई गत साउन २९ गते देखि मदन भण्डारी ट्रमा सेन्टरमा करारमा नियुक्त डाक्टर कोइराला गत भदौ १० गते आइतबार अस्पतालमा बिरामी चेकजाँच गरी बेपत्ता भएका थिए । सुनसरी र उदयपुरको सीमाको कोशी पुलमा आफू चढ्ने गाडी, मोबाइल र पर्स छोडेर बेपत्ता भएका कोइरालाको शव वराहक्षेत्र नगरपालिका वडा नं। २ को कोशीको भङगालो मङ्गलबार दिउँसो फेला परेको हो ।

कोशीमा माछा मार्नेहरूले अङ्गालोमा शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव भेटिएपछि स्थानीयले प्रहरी र आफन्तलाई खबर गरेको थियो । मृतकका बुवा दिवाकर कोइरालासहित दमक १ का वडाध्यक्ष हरिप्रसाद न्यौपानेको टोलीले शवको पहिचान गर्दा कोइरालाकै भएको ठहर भएपछि शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको छ । पोस्टमार्टम पछि आजै उनको शव घर लगिने वडाध्यक्ष न्यौपानेले बताउनु भयो ।

प्रहरी स्रोतका अनुसार अन्तिम समयमा कोइरालाले एक जना प्रेमिका सँग संवाद गरेका थिए । दमकको लाइफ लाइन अस्पताल र उर्लाबारीको अरनिको अस्पतालमा लामो समयसम्म जनरल सर्जन भएर काम गरेका ३२ वर्षीय कोइराला बाबु आमाका एक मात्र छोरा हुन् ।

सम्बन्धित खबर