कनकाई अनलाईन
बंगाली सेवा समाजले मनसादेवीको पूजाअर्चना सहित विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेर मनाएको छ ।
बंगाली भेषभुषामा सजिएका समुदायले सो विशेष पर्वको अवसरमा शनिवार कनकाई ३, सुरुङ्गास्थित कालिस्थान टोलमा विशेष कार्यक्रमको आयोजना गरी कनकाई माइसम्मको कलशयात्रा गरेका थिए । कनकाई माई नदीमा पुगेर ल्याएको शुद्ध जल मनसादेवीको मन्दिरमा अर्पण गरेका थिए ।
बंगाली सेवा समाज कनकाईका अध्यक्ष पंकज मण्डलको सभापतित्व रहेको विशेष कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । समाजका सचिव रबिन मण्डलको संचालन एवं सदस्य राजु मण्डलले स्वागत गरेको औपचारिक कार्यक्रममा कनकाई–३ का वडाअध्यक्ष युवराज चम्लागाईँ, नेकपा एमाले कनकाई नगर कमिटि अध्यक्ष खड्गप्रसाद प्रसाईँ, समाजसेवी शेरवहादुर थापा लगायतले कार्यक्रमको सफलताको कामना गर्दै बंगाली समाजले आफ्नो संस्कार एवं संस्कृतिको संरक्षणमा देखाएको सक्रियताप्रति प्रशंसा गरेका छन ।
कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, नेकपा एमाले कनकाई ईञ्चार्ज रविन्द्र लम्साल, कनकाई–३ का वडासदस्य अनिल गोयल, बंगाली समुदायका अग्रज प्रल्हाद शाह, सहदेव मण्डल लगायातको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरमा सबैले आ–आफ्नो धर्मसंस्कृति एवं संस्कारलाई जर्गेना गर्न सफल भएको भन्दै बंगली समाजको कार्यले कला सस्कृतिको जर्गेनामा मद्धत मिलेको बताउँनुभयो ।
बंगाली समुदायले भदौ महिनाको पहिलो पञ्चमी तिथिलाई विशेष पर्वका रुपमा मनाउँछन् । भदौ महिनामा मनाइने यो पर्वलाई बंगाली समुदायले विशेष महत्वको पर्वका रुपमा लिने गरेको बंगाली समाज सेवा कनकाईका अध्यक्ष पंकज मण्डलको भनाई छ ।
मनसा देवीको पूजाअर्चनाबाट दुःख, कष्ट सबै नाश भएर जाने र मानिसका सबै मनोकामना पूर्ण हुने विश्वास यस समुदायमा रहेको छ ।
यो पर्वमा बंगाली समुदायका महिला मात्र होइन पुरुषहरूले समेत व्रत बस्ने र मनसा देवीको विशेष पूजाअर्चना गरी रातभर जाग्राम बस्ने चलन रहेको बंगाली समुदायका अगुवाहरु बताउँछन् । ३ दिनसम्म यस पर्वलाई मनाइदै आएको छ ।