Kanakai Online

५० औं ओडिआई खेल खेल्दै सन्दीप


मङ्गलवार, भदौ १२, २०८० |

कनकाई अनलाईन
नेपाली क्रिकेट टोलीका प्रमुख बलर सन्दीप लामिछानेले एसिया कपमा पाकिस्तानविरुद्ध ५० औं ओडिआई खेल खेल्ने भएका छन् । नेपालले एसिया कपमा बुधबार पाकिस्तानविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ ः १५ मा मुल्तान क्रिकेट रंगाशालामा सुरुहुनेछ ।
सन्दीपले उक्त पाकिस्तानसँगको खेलबाट आफ्नो ५० औं ओडिआई खेल खेल्नेछन् । सन्दीपले ४९ ओडिआई खेलमा ३ सय ६७ रन बनाउनुको साथै १ सय ११ विकेट लिएका छन् । २३ वर्षीय सन्दीपले २०१८ अगष्टमा नेदरल्यान्ड्सविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए ।

सन्दीप रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीपछि ५० औं ओडिआई खेल खेल्ने तेस्रो नेपाली खेलाडी बन्नेछन् । सन्दीप ओडिआई इतिहासमा सर्वाधिक छिटो ४२ खेलमा १ सय विकेट पूरा गर्ने खेलाडी हुन् । उनले गत वैशाखमा अफगानिस्तानका राशिद खानको ४४ खेलको कीर्तिमान तोडेका थिए । सन्दीपले २०२० मा अमेरिका र २०२१ मा पपुवा न्युगिनीविरुद्ध ६–६ विकेट लिएका थिए ।

नेपाललाई एसिया कपमा पुर्याउन र ओडिआई मान्यता निरन्तरता गराउन उनको योगदान महत्वपूर्ण थियो । नेपालबाट सर्वाधिक धेरै ओडिआई खेल कप्तान रोहित पौडेलले ५२ र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ५० खेल खेलेका छन् ।

सन्दीपपछि आरिफ शेख र सोमपाल कामीले समान ४७ ओडिआई खेल खेलेका छन् । करण केसी ४६ र कुशल भुर्तेलले ४४, आसिफ शेखले ४१, ज्ञानेन्द्र मल्लले ३७ र कुशल मल्लले २२ ओडिआई खेल खेलेका छन् ।